वीरेन्द्रनगर : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णालीमा पनि मतदान जारी छ । बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रियामा प्रदेश सांसद, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षले गरिसकेका छन् ।
महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहका तीन सिटका लागि ६ जनाको उम्मेदवारी छ । महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धन कांग्रेसबाट दुर्गा गुरूङ, प्रतिपक्षी एमालेबाट गंगा थापा महतको छन् ।
अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ सत्तारूढ गठबन्धनबाट माओबादी केन्द्रका नेता नरबहादुर विष्ट छन् भने एमालेबाट पदमबहादुर माझीले छन्
। अन्य समूहतर्फ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेबाट चुडामणि शर्माको उम्मेदवारी छ ।
कर्णाली प्रदेश सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित एक सय ५६ जना मतदाना रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो ।
कर्णाली प्रदेशमा जम्मा मतभार ४ हजार सय ८० रहेको छ । प्रदेश सभाका सदस्यको एक हजार ६ सय ८० र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार दुइ हजार ७ सय रहेको छ । सत्तारूढ गठबन्धनमा रहेको माओबादी केन्द्रको सबैभन्दा बढी मतभार रहेको छ ।
माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ५२ रहेको छ । जसको मतभार एक हजार ५ सय १२ हुन्छ । कांग्रेसको कर्णालीमा प्रदेशमा सांसद संख्या ६ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ४० रहेको छ । जसको मतभार १ हजार ८ हुन्छ ।
एकीकृत समाजवादीको कर्णाली प्रदेशमा तीन जना सांसद छन् भने प्रमुख, उपप्रमुखको संख्या १३ रहेको छ । एकीकृत समाजवादीको मतभार तीन सय ७८ हुन्छ । सत्तारूढ गठबन्धनमा रहेको जसपाको सांसद र प्रमुख, उपप्रमुख कर्णाली प्रदेशमा शून्य छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको कर्णाली प्रदेशमा सांसदको संख्या १३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ४५ रहेको छ । यसका आधारमा एमालेको मतभार १४ सय ३४ हुन्छ । यस्तै राप्रपाको सासद संख्या १ रहेको छ । जसका मतभार ४८ हुन्छ । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनको मतभार दुइ हजार ८ सय ९८ हुन्छ ।