काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिए ।
शनिबार विमानस्थलको अनुगमनका गर्दै उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए । क्यालीब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ, मौसममा सुधार भए क्यालिब्रेशन फ्लाइट गर्छौँ ।
मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने बताए । उक्त विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्नसमेत मन्त्री आलेले निर्देशन दिए ।
यसैगरी उनले उक्त विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गरेका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको एरोथाइको प्राविधिक टोलीले क्यालिब्रेसन फ्लाइट गर्ने तयारी रहेको बताए ।
क्यालिब्रेशन फ्लाइट एरोथाइको प्राविधिक टोलीले गर्छ, उनीहरुले समस्या छैन भनेपछि परीक्षण उडान हाम्रो प्राविधिक टोलीले गर्ने तयारी भएको छ ।
क्यालिब्रेशन फ्लाइटमा धावनमार्गको एलाइनमेन्ट, बत्ती, उपकरण जाँच गर्ने र सबै चिजको रिपोर्ट ठिक भएपछि परीक्षण उडान गर्नुपर्ने नियम छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कुल ८०० बिघा क्षेत्रफले छ । रासस