काठमाडौं: प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गरेका छन्।
नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको संयोजनमा आज बेनीमा भएको पत्रकारिता आचारसंहिता जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाललाई समाज परिवर्तनको साधनका रुपमा उपयोग गर्नुपर्ने धारणा राखेका छन् ।
दर्ता भएका पत्रकारिता, रेडियो, टेलिभिजन र अनलाइनका सामाजिक सञ्जाललाई प्रेस काउन्सिलले अनुगमन गर्छ ।प्रविधिको विकाससँगै पाएको सुविधालाई धनआर्जन गर्ने मात्र नभइ समाजमा सकारात्मक सुधारको माध्यम बनाउन आवश्यक छ ।
कार्यक्रममा सहभागी स्थानीय सञ्चार माध्यमका प्रतिनिधिले वर्गीकरण नजिता नआउदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको गुनासो गरेका थिए । काउन्सिलका सदस्य दुर्गा भण्डारीले नयाँ सञ्चार माध्यम र प्रविधिको विकाससँगै थपिएको पत्रकार आचारसंहिता पालनाको चुनौती घटाउन देशव्यापी जागरण अभियान सञ्चालन गरिएको बताए ।
काउन्सिलका अनुगमनकर्ता गीता कठायतले देशभरका पत्रपत्रिका, पत्रकार महाङ्घ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले म्याग्दी र अग्रज पत्रकार पुण्य पौडेलले प्रदेशका सञ्चार माध्यम र पत्रकारको आचारसंहिता पालनाको अवस्थाको बारेमा सहजिकरण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले पत्रकारितालाई तत्थ्यपरक र बिश्वसनीय बनाउन सूचनाको हकको उपयोग गर्न सुझाव दिए । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले समाचारले अनुसन्धानलाई असफल बनाउन र अदालती पक्रियामा असर पुग्न नहुनेतर्फ सचेत रहनुपर्ने बताए।
जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले लोककल्याणकारी विज्ञापन प्रकाशनबापतको भुक्तानी जिल्लाबाटै गर्न थालिएको जानकारी दिए ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष दीपक पौडेलले जिल्लाका पत्रकार आचारसंहिताको विषयमा संवेदनशील रहेको बताए । कार्यक्रममा ४० सञ्चारकर्मीले भाग लिएका महासङ्घ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले जानकारी दिए । रासस