सिमकोट : नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत हुम्लाबाट दुई जना केन्द्रीय सदस्यमा चयन भएका छन् । माओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेको केन्द्रीय सदस्य पदमा हुम्लाबाट दुई जना परेका हुन् ।
हुम्लाबाट केन्द्रीय सदस्य हुनेमा निवर्तमान केन्द्रीय सदस्य विजय भण्डारी र संघीय सांसद छक्कबहादुर लामा रहेका छन् । भण्डारी जनयुद्धका बेला भुमिगत भएर विभिन्न आक्रमणमा सहभागी भएका थिए ।
कलिलै उमेरमा पार्टीको केन्द्रीय सदस्य हुन सफल भएका भण्डारी हुम्ला जिल्लाको पार्टीको इन्चार्ज समेत हुन् । उनी खसआर्य कोटाबाट केन्द्रीय सदस्य भएका हुन् ।
लामो समय माओवादी पृष्ठभुमि रहदै आएका उनलाई यस पटकको केन्द्रीय सदस्यमा नल्याउने लविङ चलेको भए पनि अन्तमा उनी माओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेको केन्द्रीय सदस्यको परेरै छोडेका छन् ।
२०७४ सालको प्रदेश सभा निर्वाचन अन्तर्गत हुम्ला जिल्लाको ‘ख’ नम्बर क्षेत्रबाट उनी माओवादी केन्द्रबाट लडेका थिए । उनी कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीँसँग पराजित भएका थिए ।
यता संघीय सांसद लामाले २०४८ सालमा हुम्ला जिल्लाबाट जनमोर्चाबाट संसदमा निर्वाचित भएको भएपनि माओवादी युद्धमा उनी कतै लागेनन् । यसअघि लामा माओवादीको सल्लाहकार परिषदका सदस्य रहेका थिए ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहका पालामा सहायक र राज्यमन्त्री भइसकेको उनी माओवादी शान्ति प्रक्रियामा आइसकेपछि माओवादीमा झुकाव राख्दै आएका थिए ।
२०७० सालको दोस्रो संविधान सभाको चुनावमा माओवादी केन्द्रबाट टिकटबाट लिएका थिए । २०७४ सालको संघीय संसदको निर्वाचनमा माओवादीले टिकट नदिएपछि उनी स्वतन्त्र भएर लडेर निर्वाचन जिते ।
उनी स्वतन्त्र रुपमा लडेको भए पनि तत्कालिन एमाले माओवादी गठबन्धन अनुसार उनलाई एमाले र केही माओवादीको पनि सर्मथन रहेको थियो ।