काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी बिमलेन्द्र निधिले समर्थन गर्ने भएका छन ।
नेता निधिले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले आज बिहान टेलिफोन गरेर र आफ्नै निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गरेको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उनिलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन ।
पहिलो चरणको निर्वाचनमा आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणको मतदानमा सभापति पदमा देउवालाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेका छन । उनले १४औँ महाधिवेशनमा सभापति पदका लागि हिजो भएको निर्वाचनमा आफूलाई साथ दिने साथीहरु र आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरुप्रति हार्दिक आभार प्रकट गरेका छन ।
महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुन लागेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । आजै साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
सभापतिमा देउवालाई अर्का प्रत्यासी गुरुङको पनि समर्थन
सभापतिका प्रत्यासी रहनुभएका कल्याण गुरुङले पनि सभापतिमा देउवालाई समर्थन गर्ने बताएका छन । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गरेका थिए ।
उनले आाफ्ना मतदातासँग आजै बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताए । यसअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका थिए । रासस