सिमकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेको दुई दिनपछि काठमाडौं लागेका छन् ।
महाधिवेशनमा भाग लिनुका साथै चुनावी तयारीका लागि उनी बुधबार बिहान सुर्खेतबाट नेपालगञ्ज हुँदै हवाइ मार्गबाट काठमाडौं लागेका हुन् । पार्टीमा छलफल र आन्तरिक तयारीका लागि मुख्यमन्त्री शाहीले काठमाडौं लागेको जानकारी दिए ।
देशभरका कांग्रेस नेता तथा कार्यकर्तासँगको परामर्श लिएर आफुले कांग्रेस सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताउँदै हाल कांग्रेस केन्द्रीय सदस्य रहेका मुख्यमन्त्री शाहीले आफ्नो आधिकारीक साइटमार्फत उम्मेद्वारी दुई दिनअघि कांग्रेसको १४ औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका थिए ।
उम्मेद्वारी घोषणा गरेपछि मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको आवाज उठाउन आफ्नो ध्यान केन्द्रित हुने जानकारी दिए । कर्णाली र पछाडि परेका क्षेत्रको आवाज उठाउन केन्द्रीय सदस्य मात्रले नपुग्ने बताउँदै उनले यसका लागि कांग्रेसको पदाधिकारी स्तरमा पुग्नुपर्ने भएकै कारण सो पदमा उम्मेदवारी दिनु उपयुक्त भएको र अब चुनावी तयारी सुरु भएको बताए ।
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा जन्मिएका मुख्यमन्त्री शाही २२ वर्ष लगातार हुम्ला कांग्रेसको सभापति थिए । यसअघि ४० वर्षको उमेरमा पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए । त्यस यता लगातार तीन वटा अधिवेशनबाट केन्द्रीय सदस्य हुँदै आएका छन् ।
पार्टी सभापति एवं प्रधानमन्त्री पक्षका मुख्यमन्त्री शाही हुम्ला जिल्लाका २६ जनै महाधिबेशन प्रतिनिधि आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । त्योसँगै कर्णाली प्रदेशमा भएको निर्वाचनमा पनि उक्त पक्षलाई विजयी गराउन उनको पनि योगदान रहेको छ ।
पिछडिएको क्षेत्र अन्तर्गत साविक कर्णालीका पाँच वटा जिल्ला र जाजरकोट तथा सुदूर पश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरा लगायतका जिल्ला पर्छन् । उक्त पदका लागि पिछडिएको क्षेत्रका कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले उम्मेद्वारी दिन पाउँछन् । उम्मेद्वार मतदान भने देशभरकै महाधिवेशन प्रतिनिधिहरुले गर्न पाउँछन् । चुनावी प्रचारका लागि उनले काठमाडौंमा सम्पर्क कार्यालय समेत खोली सकेका छन् ।