सुदूरपश्चिम: नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायरको विजय निश्चित भएको छ । गन्न बाँकी मत जोड्दासमेत पौडेल पक्षका नारायणदत्त मिश्र पछाडि भएपछि बलायरको जित सुनिश्चित भएको हो।
सुरुवातदेखि नै दोब्बर मतले अग्रता लिएका बलायरले ८ सय ६ मत गणना गर्दा ५५३ मत प्राप्त गरिसकेका छन् भने इतर पक्षका मिश्रको २२९ मत रहेको छ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट बलायर र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मिश्र चुनाव लडेका थिए। अन्य पदमा पनि बलायरको प्यानल नै निर्वाचित भएको छ।
उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्था ५२३ मत प्राप्त गरी विजयी भएका छन्। उपसभापतिमा पराजित भएका गोपाल गुरुङले २८१, मनबहादुर रावलले २६३ र हिमबहादुर रावलले १२१ मत पाएका छन्।
यस्तै, महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ र मेघराज खड्का ६३५ मत पाएर विजयी भएका छन्। महामन्त्रीमा पराजित भएका प्रताप गुर्धामीले १३३ र रामबहादुर शाहीले ३०३ मत पाएका छन्।
चिन्तामणि भट्ट ५३३ र गोपालदत्त भट्ट ५२९ मत प्राप्त गरेर निर्वाचित सहमहामन्त्रीमा निर्वाचित भएका छन्। सहमहामन्त्रीमा पराजित भएका नरेन्द्रप्रसाद भट्टले २९२, पदमराज पन्तले २५४, लक्ष्मीबहादुर शाहीले १६४ र हर्कबहादुर स्वाँरले ६८ मत पाएका छन्।
यसैगरी, महिला सहमहामन्त्रीमा अम्बिका कुमारी चलाउने विजयी भएकी छन्। उनले ६८६ र उनकी प्रतिद्वन्द्वी खिना भण्डारीले २२३ मत पाएकी छन्।