गण्डकी: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानसेनापति प्रभुराम शर्माका बीच आइतबार भेटवार्ता सम्पन्न भएको छ ।
मुख्यमन्त्री कार्यालयमै भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले मुलुकका हितमा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्।
कोरोनाकाल, प्राकृतिक विपत्तिका समय नेपाली सेना अग्रपङ्क्तिमा खटिएको जनाउँदै उनले सीमित स्रोत र साधनका बीच सेनाले नागरिकका सेवामा खटिएको स्मरण गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
सो अवसरमा प्रधानसेनापति शर्माले सेना राष्ट्रहित , विकास निर्माणका साथै मुलुकलाई चाहिएका खण्डमा हरदम सेवामा तत्पर रहेको बताए ।
उनले आफूले जिम्मेवारी लिएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको जानकारी दिए । विपत्तिका समयमा सहरमा खाली स्थान चाहिने भएकाले अहिलेको विमानस्थलको जमिन बचाइराख्नुपर्ने उनको सुझाव छ ।
आइतबार मनाङ हुँदै पोखरा आउनुभएका उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गराए । उक्त अवसरमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकार र सुरक्षा निकायबीचको सम्बन्धका बारेमा जानकारी गराए ।
भेटमा बिना विभागीयमन्त्री डोबाटे विक, प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडी, नेपाली सेना पश्चिम कमान्ड प्रमुख उपरथी बाबुराम श्रेष्ठलगायतको उपस्थिति थियो । रासस