काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताए।
एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज आयोजित भेलामा उहाँले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए ।
अध्यक्ष नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने ठोकुवा गरेका छन् । उनले राष्ट्रियसभा तथा उपनिर्वाचनमा गठबन्धनले साझा उम्मेदवार उठाएर सबै स्थानमा विजय हासिल गर्ने बताए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए ।
वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिबद्धता जनाउँदै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन भएका कानुनलाई कडाइका साथ कार्यान्वयन गरिने बताए ।
कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरू प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्कीलगायतले आफ्नो पार्टीको पक्षमा जनलहर आएको बताए ।
भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेकपा (एकीकृत समाजवादी) तनहुँ–काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ ।
कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेसलगायत पार्टी परित्याग गरी एकीकृत समाजवादी प्रवेश गरेका ५३ जनालाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका छन्।रासस