काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०६४ मा जस्तै आगामी निर्वाचनमा माओवादी पार्टीले जित हासिल गर्ने दाबी गरेका छन् ।
रौतहटको कटहरिया बजारमा नेकपा (माओवादी केन्द्र)द्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका छन्। उनले मधेसी समुदायको अधिकार संविधानमा सुरक्षित गर्न पनि आफू नेतृत्वको पार्टीले जित्नुपर्ने जिकीर गरेका छन् ।
रौतहट आत्मसमर्पणकारीहरूको जिल्ला होइन, लाल क्रान्तिकारीहरूको जिल्ला हो । केही दलाल, केही भगौडा, केही प्रतिगामीहरू आत्मसमर्पण गर्दैमा रौतहटवासी झुक्दैनन्, माओवादी केन्द्रलाई अत्यधिक मतले विजयी गराउँछन् ।
दलित, मुस्लिम, पिछडिएकाहरूका लागि विशेष अधिकार दिलाउन आफू क्रियाशील रहेको र यसका लागि ठूलो लडाइँ लड्नुपरेको उनले स्मरण गरेका छन् । परिवर्तनका लागि देशभरिमा १७ हजारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एक हजार ३०० भन्दा बढी मधेसी जनताले बलीदान दिएर परिवर्तनका लागि योगादान गरेको स्मरण गरेका छन्।
खलनायक, प्रतिक्रिवादीहरू मधेशी, मुस्लिम, दलित, उत्पीडितले आन्दोलनपश्चात पाएको समावेशीको अधिकारलाई समाप्त पार्ने षड्यन्त्रमा लागेका छन्, सचेत हुनुहोला । किसानको समस्यालाई मध्यनजर गर्दै बन्द रहेको श्रीराम सुगर मिल सञ्चालन गराउन आफूले पूरै ताकत लगाउने आश्वासनसमेत अध्यक्ष प्रचण्डले उक्त अवसरमा दिए ।
रौतहटवासीले वर्षेनी खेप्दै आएका डुबानको समस्यालाई समाधान गर्न ऊर्जा तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयलाई लालबकैया र बागमती नदी नियन्त्रण गर्न तटबन्धको व्यवस्था मिलाउन आफूले निर्देशन दिने उनले जानकारी दिए।
उखु किसानको समस्यालाई समाधान गर्न आफूले काठमाडौँमा पुगेर पहल गर्ने विश्वाससमेत दिलाउँदै अध्यक्ष प्रचण्डले शिवनगरमा विद्युत्को शाखा निर्माण गर्ने बताए । मुस्लिम समुदायको मागअनुसार शक्तिशाली मुस्लिम आयोग गठन र इस्लामिक विश्वविद्यालय स्थापना गर्न आफूले पहल गर्ने बताए ।
कटहरिया नगरपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत, नापी, कृषि विकास बैंकको शाखा स्थापना गराउन आफूले सहयोग गर्ने अध्यक्ष प्रचण्डले आश्वासन दिए ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति रौतहटका सभापति एवं पूर्व सभासद देवेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका रौतहट इन्चार्ज समिर भट्टराई, पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, पूर्वसभासद गोपाल ठाकुर, मुस्लिम अध्यक्ष ओहिद अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका छ्न। रासस