काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले बागलुङ नगरपालिकाका नौ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ ।
पार्टीको राष्ट्रिय सम्मेलनपूर्व आज देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो । नगरका कूल १४ वडामध्ये बाँकी रहेका पाँच वडामा केही दिनभित्रैमा अधिवेशन हुने पार्टीको नगर कमिटीका अध्यक्ष इन्द्र केसी ‘पारस’ले जानकारी दिए।
उनका अनुसार बागलुङ–१ मा सुरेन्द्र बोहोरा अध्यक्ष र रमेश थापा सचिव रहनुभएको २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । वडा नं २ मा सूर्य महतको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण भएको छ । सचिवमा विवेक जिसी रहेका छन् ।
वडा नंद ४ मा बिजुली केसी अध्यक्ष र शिव शर्मा सचिव रहेको २१ सदस्यीय वडा कमिटी चयन भएको छ । त्यसैगरी वडा नं ६ मा भवानीशङ्कर सापकोटाको अध्यक्षतामा २९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको जनाइएको छ । सो वडाको सचिवमा शान्ता नेपाली रहेका छन् ।
वडा नं ५ मा टेकबहादुर केसीको अध्यक्षतामा सात सदस्यीय, ८ मा टोपबहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय र ९ मा टीकाराम पौडेलको अध्यक्षतामा १९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको छ ।
यस्तै वडा नं १३ पैँयूपाटामा रेशम केसीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको नगर कमिटी अध्यक्ष केसीले बताए । उक्त कमिटीको सचिवमा भीमप्रसाद रेग्मी रहेका छन् ।
वडा नं १२ अमलाचौरमा परमानन्द शर्माको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन भएको छ । सचिवमा दुर्गा विक रहनुभएको जनाइएको छ ।
पार्टीको जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले अधिकांश वडामा आजै अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको बताए । व्यवस्थापकीय तयारी नपुगेका कारण आज हुन नसकेका वडामा पनि तत्कालै अधिवेशन हुने उहाँको भनाइ छ ।
जिल्लामा ८५ वडा छन् । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ । रासस