सुर्खेत : कर्णालीको विकासका लागि शपथ खाएर मुख्यमन्त्री जीवन शाहीले काम सुरु गरेका छन् । तर शपथको एक हप्ता भने उनको दैनिकी बधाई र शुभकामना थाप्दैमा बितेको छ । दैनिक मुख्यमन्त्री कार्यालय र निवासमा बधाई दिन आउनेको शुभकामना थापेर उनी विकासमा धारणा बताइरहेका छन् ।
बुधबार सार्वजनिक बिदा भएपनि मुख्यमन्त्री शाहीले दर्जनौ नेता, कार्यकर्ता र शुभेच्छुकबाट शुभकामना ग्रहण गरे । मुख्यमन्त्री निवासमै पुगेका केही पत्रकारसँग आफ्नो विकासको सुत्र तथा मन्त्र समेत सार्वजनिक गरे ।
हुन त उनले सुरुदेखि नै कर्णालीको विकासका ६ ब सुत्र भन्दै आएका छन् । ६ ब को विकास भएमा मात्रै कर्णाली प्रदेश विकास र समृद्धितर्फ अघि बढ्ने उनको धारणा छ । उनका अनुसार कर्णालीको विकासका लागि गर्नैपर्ने ६ ब सुत्र यसप्रकार छन्:
१. बाटो
मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बाटो पहिलो पूर्वाधार भएको बताए । बाटो राम्रो भएमात्रै कर्णालीको विकास एक कदम अगाडि बढ्ने उनको विश्वास छ । यसका लागि उनले राराको उदाहरण दिए । बाटो राम्रो भएको खण्डमा रारामा धेरै पर्यटक आउन सक्ने भन्दै उनले विकासमा बाटोलाई पहिलो प्राथमिकतामा राखेको उनले बताएका छन् ।
उनको गृह जिल्ला हुम्लामा अहिलेसम्म सडकबाटो नपुगेका कारण पनि उनले बाटोलाई मुख्यमन्त्री शाहीले पहिलो प्राथमिकतामा राखेको देखिन्छ । भौगोलिक रुपमा कर्णालीमा सबैभन्दा ठूलो समस्या बाटोकै देखिन्छ । हुम्ला बाहेक सबै जिल्लामा गाडी पुग्ने भएपनि कच्ची र साँघुरो बाटोका कारण कर्णालीमा धेरै दुर्घटना हुने गरेको छ ।
२. बिजुली
मुख्यमन्त्री शाहीको विकास सुत्रमा बाटोपछि बिजुली दोस्रो प्राथमिकताको क्षेत्र हो । कर्णालीको हकमा अहिलेसम्म सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम र कालिकोटमा मात्रै बिजुलीको राष्ट्रिय लाइन जोडिएको छ । हुम्ला, डोल्पा, जुम्ला र मुगुमा प्रसारण लाइन छैन । जसकारण त्यहाँ बिजुली पुग्न सकेको छैन ।
उसो त लाइन पुगेका जिल्लामा पनि सदरमुकाममा मात्रै राष्ट्रिय प्रसारण लाइन छ । सुगम मानिएकै जिल्लाका दुर्गम ठाउँमा बिजुली छैन । जसकारण राष्ट्रिय प्रसारण लाइन सबै ठाउँमा बिस्तार गर्नुपर्ने आवश्यकता छ । यसलाई मुख्यमन्त्री शाहीले दोस्रो प्राथमिकतामा राखेका छन् ।
कर्णालीका बिजुली उत्पादनका लागि पर्याप्त सम्भावना भएपनि लगानी ल्याउन सक्नुपर्ने उनको धारणा छ ।
३. वन
हरियो वन, नेपालको धन राष्ट्रिय नारा नै छ । तर नेपालको हरियो वन संरक्षणमा त्यति धेरै चाँसो दिइएको भने छैन । नेपालको वनलाई संरक्षण गरेर राम्रोसँग काठको सदूपयोग गर्न सके विकासको समृद्धिमा अगाडि बढ्न सकिने मुख्यमन्त्री शाहीको धारणा छ । खासगरी अरु प्रदेशको तुलनामा कर्णालीमा मात्रै वन संरक्षणलाई थप प्राथमिकता दिन सकिने मुख्यमन्त्रीको धारणा छ ।
कर्णाली विकासको मेरुदण्डका रुपमा वन विकास र संरक्षणलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । कर्णालीको सुन्दरता र विकासलाई वनले थप सहयोग गर्ने धारणा पनि मुख्यमन्त्री शाहीको छ ।
४. बजार
कर्णालीको उत्पादनमा कमी छैन । तर भएको उत्पादनले बजार नपाउँदा समस्या भने वर्षेनी थपिँदै गएको छ । जसले गर्दा समस्या झन् बढेको पनि मुख्यमन्त्री शाहीको भनाई छ । कर्णालीको विकासका लागि बजार पहिचान गर्ने, बजार विस्तार गर्ने, एक ठाउँको उत्पादन अर्को ठाउँमा पुर्याउने काम गर्नुपर्ने उनको धारणा छ ।
कर्णालीका भौगोलिक विकटताका कारण बजारको समस्या भएपनि यसलाई पहिचान, विस्तार र बजारीकरण गर्न सके धेरै सम्भावनालाई यतार्थमा परिणत गर्न सकिने धारणा मुख्यमन्त्री शाहीको छ ।
५. विचार
उनको विकासको प्राथमिकतामा विचार पनि छ । बिचार अर्थात सोच अनुसार नै प्रदेशको विकास हुने भएकाले विचारलाई व्यवस्था महत्वपूर्ण विषयको रुपमा उनले बुझेका छन् । नयाँ–नयाँ विचारका साथ अगाडी बढान् सके कर्णाली प्रदेशमा भएका सम्भावनाहरूलाई बाहिर ल्याउँन सकिने उनको भनाइ छ ।
६. व्यवस्थापन
मुख्यमन्त्री शाहीले माथिका ५ वटा ब को उचित प्रयोगका लागि व्यवस्थापन सही हुनुपर्ने धारणा राखे । व्यवस्थापन राम्रोसँग नभएकै कारण समस्या रहेको भन्दै उनले कर्णालीको कार्यकारी प्रमुखको भूमिकामा आफू पुगेपछि व्यवस्थापनलाई ध्यान दिने बताए ।
कर्णालीमा स्रोत साधनको अभाव नभएको भन्दै उनले व्यवस्थापन सबैभन्दा महत्वपूर्ण भएको पनि बताए । कर्णालीमा राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थापन गर्न सके धेरै हदसम्म अहिलेका समस्या समाधान हुने पनि उनको धारणा छ ।
मामूली नेता बन्ने कि कर्णाली कायापलट गर्ने अस्त्र बनाउने ?
मुख्यमन्त्री शाहीले यसअघिदेखि नै कर्णालीको विकासका लागि ६ वटा ब को प्रयोग अनिवार्य भएको बताउँथे । अहिले उनी आफू मुख्यमन्त्री हुँदा पनि यी ६ ब लाई नै प्राथमिकतामा राखेर काम गर्ने बताउँछन् । तर एक मामूली नेताले विकासका लागि आवश्यक पर्ने पूर्वाधारका रुपमा ६ ब को प्रयोगमा उनले ध्यान दिएको मान्न सकिन्थ्यो ।
तर अहिले उनी मुख्यमन्त्री छन् । आफ्ना प्राथमिकतामा उनले यी ६ वटा ब लाई नै एजेन्डा बनाएका छन् । कर्णालीको विकासका लागि पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य उनको खास प्राथमिकतमा देखिदैन । यसर्थ उनको यी ६ वटा ब को प्रयोग, त्यसले गर्ने काम र आफ्नो कार्यकालमा कर्णालीको कायापलट गर्ने अस्त्र बन्लान ? हेर्न बाँकी छ ।