काठमाडौं: नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अमेरिकी अनुदानमा आधारित एमसिसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने बताए ।
विर्तामोडस्थित कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले एमसिसीका विषयमा कांग्रेसका नेता र कार्यकर्ता पनि बोल्न डराउने गरेको उल्लेख गरेका छन् ।
भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनलगायतबाट नेपाललाई वर्षेनी अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने बताए ।
सबै मित्रराष्ट्रसँगको परराष्ट्र नीति समान हुनुपर्नेमा उनको जोड थियो । एमसिसीमार्फत अमेरिकाले दिने सहयोग ऋण नभएर अनुदान भएको उनले स्पष्ट परेका छन् । विद्युतीय ट्रान्समिसन लाइन, सडक जस्ता महत्वपूर्ण पूर्वाधार निर्माणमा आउने सहयोग नेपालले स्वीकार गर्नुपर्ने नेता महतको धारणा थियो ।
विदेशी सेना आउने, विदेशको कानून लागू हुने, सार्वभौमसत्ता सङ्कटमा पर्ने जस्ता गलत र हुँदै नभएका हल्ला चलाइएकाले एमसिसीबारे जनतालाई सत्य कुरा सुनाउन नेताहरुले आँट गर्नुपर्ने उनको भनाइ थियो ।
नेता महतले भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा जाँदा सीमा समस्या र तुइन समस्याको समाधानका बारेमा खुलस्त रुपमा छलफल भएको जानकारी दिए । केपी ओली नेतृत्वको सरकारका पालामा भारतसँगका सम्झौताका विषयमा प्रष्ट कुरा र अडान राख्न नसकेको उनले आरोप लगाए ।
ओलीले सडक, मिडिया र जनतातिर फर्केर चर्को राष्ट्रवादी कुरा राखेर भ्रम छरेको डा महतको भनाइ थियो । सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उनले स्वतन्त्र न्यायालय समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविकरुपमा निम्तिने बताए ।
“राज्यका सबै अङ्ग स्वतन्त्र छन्, एउटाले आफ्नो समस्या समाधान गर्न सकेन र राज्य व्यवस्थामै अप्ठ्यारो अवस्था सिर्जना भएमा अर्को अङ्गको हस्तक्षेप अपरिहार्य हुन्छ ।
महामन्त्रीको उम्मेद्वार बन्ने सङ्केत
डा महतले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वार बन्ने सङ्केत गरेका छन् । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिर पुगेर फर्किने क्रममा झापामा कार्यकर्तासँग भेटघाट गर्दै उनले लामो समय एउटै पदमा नबस्ने उल्लेख गर्दै सहमहामन्त्री पदको ‘सह’ यसपाली हटाउने इच्छा भएको बताए । उनले छिटै महामन्त्री पदको उम्मेद्वारी घोषणा गर्ने बताए ।
कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए । ताप्लेजुङबाट विर्तामोडस्थित पार्टी कार्यालयमा आउनुअघि डा महत महामन्त्रीको उम्मेद्वारी घोषणा गर्नुभएका प्रवक्ता शर्मालाई भेट्न मेचीनगरस्थित उनको निवास पुग्नुभएको थियो । रासस