सिमकोट : हालै सम्पन्न नेकपा एमालेको वडा र गाउँपालिका अधिवेशनबाट सत्तरी प्रतिशत युवा नेतृत्व र पार्टी कमिटीमा आउन सफल भएपनि एमाले हुम्ला उत्साही बनेको छ ।
नयाँ युवाहरुको चाहना पार्टीप्रति आकर्षण बढ्दै गएकोले नेतृत्वमा पुगेपछि पार्टीमा थप बल पुगेको महशुस एमालेले गरेको हो । एमाले हुम्लाका अध्यक्ष दलबहादुर रावलले केही दिन अगाडी सम्पन्न भएका ४३ वटा वडा र सात वटा गाउँपालिकाका कमिटीमा पैतीस प्रतिशत महिना पार्टी कमिटीमा आउन सफल भएबाट पार्टी उत्साही भएको बताए ।
सम्पन्न अधिवेशन बारे जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका रावलले सो जानकारी दिएका हुन् । त्यसैगरि जिल्लाका ४४ वटा वडा मध्य ४३ वडामा सम्पन्न अधिवेशनबाट पनि पैतीस वडामा चालीस भन्दा कम उमेरका अध्यक्ष चयन भएको एमालले जनाएको छ ।
अन्य पदमा पनि युवाको वर्चश्व उल्लेख्य रहेको एमालेले जनाएको छ । एमालेको विधानमा ३३ प्रतिशत पार्टीका सबै कमिटीमा महिला चयन हुनुपर्ने प्रावधानलाई प्राथमिकता दिएर पैतीस प्रतिशत महिला कमिटीमा चयन भएका छन् ।
कुल कमिटीका सदस्य मध्य ६५१ जना महिला कमिटीमा चयन भएका हुन् । वडा र पालिका कमिटीका पदाधिकारीमा पनि महिलाहरुको सहभागिता रहेको एमालेले जनाएको छ । एमालेका तल्ला कमिटीमा पहिलो पटक यतिधेरै महिलाहरुको सहभागिता पाईएको हो । त्यसैगरि १३ प्रतिशत दलितको पनि कमिटीमा सहभागिता रहेको छ ।
जिल्लाका सात वटा मध्य नाम्खा बाहेक अन्य छ वटा गाउँपालिकामा दलितको कमिटीमा सहभागिता रहेको हो । त्यसैगरी जनजातिको पनि उल्लेख्य स्ंख्यामा कमिटीमा सहभागिता रहेको एमालेले जनाएको एउटा गाउँपालिका नै जनजाति समुदायबाट सहभागिता रहेको छ ।
दुई तहका अधिबेशनबाट एक हजार ८५८ जना पार्टी कमिटिमा चयन हुनु भएको छ । सो पार्टीको जिल्लामा पाँच हजार १५२ जना संगठित समस्यहरु रहनु भएको छ ।