रुकुम पश्चिम : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाली काँग्रेसलाई मुख्यमन्त्रीको जिम्मेवारी दिनलाई गरिएको सहमती पालना गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
तीन दलिय गठबन्धनमा रहेको प्रदेश सरकार समझदारीका साथ चलिरहेको र कार्तिक १५ गतेपछि नेपाली काँग्रेसलाई नेतृत्व दिन गरिएको सहमती कार्यान्वयनको लागि केन्द्रको निर्देशन जरुरत रहेको मन्त्री शर्माले जनाए ।
नेपाल पत्रकार महासंघ रुकुमले मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रदेश सरकारका मूख्यमन्त्री परिवर्तन हुने कुरा केन्द्रको निर्देशनमा निर्भर रहेको जनाए । केन्द्रमा गठबन्धनको सरकार रहेको र त्यसको प्रभाव प्रदेश तथा स्थानीय स्तरमा समेत रहने भन्दै मन्त्री शर्माले केन्द्रको निर्देशन पालना गर्न प्रदेश सरकार तयार रहेको बताए ।
मुख्यमन्त्री नेपाली काँग्रेसलाई दिने बिषयमा तीन दलले सहमती गरेको कुरा चर्चाामा रहेको बताउँदै उनले मुख्यमन्त्री स्वयम् सहमती पालना गर्न तयार रहेको तर केन्द्रको स्पष्ट निर्देशन अनुसार नै सत्ता हस्तान्तरण गरिने उल्लेख गरे । मुख्यमन्त्री सहमती पालना गर्न स्वयम् प्रतिबद्ध हुनुहुन्छ,’ मन्त्री शर्माले भने, ‘माओवादी केन्द्रले सहमती कार्यान्वयन नगर्ने भनेर कतै निर्णय गरेको छैन, केन्द्रको निर्देशन पालना गर्छौ ।’
उनले बिभिन्न सञ्चार माध्याममा माओवादीले सहमती कार्यान्वयन नगर्ने भनेर आएका समाचारहरु आधिकारीक नभएको उल्लेख गरे। केन्द्रीय सत्ता गठबन्धनले प्रभाव नपारेमा कर्णालीको सत्ता काँग्रेसको नेतृत्वमा दिने सहमती कार्यान्वयन हुने समेत उनले जनाए ।
गृह जिल्ला आएको बेला पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले प्रत्येक घर स्वरोजगार नारा लिएर कर्णालीका जनतालाई आत्मनिर्भर बनाउन लागि परेको बताए ।
व्यवसायीक रुपले सक्षम बनाएर आत्मनिर्भर बनाउने र गरिबी बिरुद्ध आफै जुध्ने बनाउन किसानहरुलाई लगानी गरिहरको र व्यवसायीक योजनाका साथ अगाडि बढ्ने किसानलाई १ अरब लगानी गर्न प्रदेश सरकार तयार गरेको समेत मन्त्री शर्माले उल्लेख गरे ।