कास्की : नेकपा एमालेले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ्रेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन ।
मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजङ्ग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्वयमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भएका छन् । अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, सहसचिवमा दानबहादुर केसी र विराज सुवेदीलाई चयन गरिएको छ । यस्तै रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध चयन भएको एमाले कास्की जिल्ला कमिटीका सचिव दामोदर बैरागीले जानकारी दिए ।
यसैगरी पोखरा महानगरपालिकामा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । पोखराको नेतृत्व लिनका लागि दीपक पौडेल, तेजनारायण अधिकारी, दिलीप न्यौपाने र सञ्जीवबहादुर कोइराला आकांक्षी छन् । सहमति नबन्दा अधिवेशन एक दिनपछि सरेको हो ।
माछापुच्छ्रे गाउँपालिकाको अधिवेशन भने स्थगन गरिएको छ । उद्घाटन समारोहपछि नेतृत्व चयन प्रक्रिया सुरु भएकामा आकांक्षीबीचमा सहमति नजुटेपछि उम्मेदवारको सहमतिमा अधिवेशन स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । अध्यक्षका आकांक्षीबीच छलफल गरेर उनीहरुबीचको सहमतिअनुसार निर्वाचन प्रक्रिया सुरु हुनेछ । अध्यक्षका लागि विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले मनोनयन दर्ता गराएका छन् ।
स्याङ्जाको नौ पालिकामा नेतृत्व चयन
स्याङ्जा : स्याङ्जाको ११ मध्ये नौ पालिकामा नेकपा ९एमाले०को नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ । अधिवेशनमा जिल्लाको फेदीखोला, आँधीखोला, हरिनास, अर्जुनचौपारी, कालीगण्डकी, बिरुवा गाउँपालिका, भिरकोट, गल्याङ र चापाकोट नगरपालिकामा नेतृत्व चयन प्रकिया सम्पन्न भएको छ ।
पुतलीबजार र वालिङ नगरपालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको नेकपा एमाले स्याङ्जाले जनाएको छ । पुतली बजार नगरपालिकामा महेश पुरी, अमृत श्रेष्ठ, ओम खड्का, अशोक शर्मा, भरत गोदारलगायतले अध्यक्षमा दाबी गरेका छन् । वालिङमा पुण्यप्रसाद अर्याल, शोभाकान्त पौडेल र यामकान्त खनालले नेतृत्वका लागि दाबी गरेका छन् । सहमतिका आधारमा नेतृत्व चनयका लागि छलफल भइरहेको एमाले सचिवालय सदस्य राजेन्द्र डुम्रेले जानकारी दिए। रासस