रुकुम : २०७७ जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका- ८ को सोतीमा गाउँमा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका साक्षीको बकपत्र आजदेखि सुरु भएको छ ।
जिल्ला अदालत रुकुममा आजदेखि दुवै पक्षका साक्षीहरुको बकपत्रको कार्य सुरु भएको जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताए । उक्त घटनाका वादी तर्फका ३९ जना र प्रतिवादी तर्फका २३ जनालाई आज हाजिरी गराइएको छ । भोलि बकपत्र हुनेछ । श्रेष्तेदार बोहराका अनुसार शुक्रबारसम्म वकपत्र गराइसकिने छ ।
सोती घटनामा संग्लग्न भएको आरोपमा चौरजहारी नगरपालिका-८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो ।
ती मध्ये २३ आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको र ११ जना तारिखमा छाडिएका छन् । अदालतले सुरु थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई एक लाख धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारिखमा रहने गरी पुर्पक्ष गरेको थियो ।
बाल सुधार गृहमा रहेकी नवराजकी प्रेमिका भनिएकी १७ बर्षिया किशोरी र एक किशोरलाई अभिभावकको जिम्मा रहने गरी उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो । त्यस्तै सर्वाेच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर घर्तिलाई पनि साधारण तारिखमै छाडेको थियो ।
जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।