धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताउनुभएको छ ।
ढल्केवरमा जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले प्रदेशको भू–बनोट, विद्युतीय सुविधा र उत्पादित सामानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वरभूमि भएको प्रष्ट पारे ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले उद्योगीलाई सहयोग हुने गरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक पर्ने वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताए । उनले अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने खालका उद्योग कलकारखाना स्थापना गर्न उद्योगीलाई आग्रह गर्दै उहाँले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश सरकारले योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
उनले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ उद्योग स्थापना गर्न आग्रह गर्दै प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेकाले उद्योग सञ्चालन गर्न आग्रह गरेका छन्। तपाईँहरु उद्योग सञ्चालनको तयारी थाल्नुहोस्, वातावरण निर्माण गर्ने जिम्मा हाम्रो छ, थप ऐन कानुन चाहिए सुझाव दिनुहोस्, हामी ल्याउँछौँ।
मुलुकको आर्थिक समृद्धि एव रोजगारीका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अटोमोबाइल क्षेत्रप्रति केन्द्रीय सरकारको धारणा सकारात्मक नहुनु दुःखद् रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारका तर्फबाट हुनसक्ने सम्पूर्ण वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिलासिताभन्दा पनि उपयोग वस्तुका रूपमा परिणत हुँदै गएको अटोमोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको र मुलुकको आर्थिक समृद्धिमा नाडाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले भनाइ छ । उनले लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण बनाउन नसक्नु राज्यका लागि दुर्भाग्यको कुरा रहेको जनाउँदै ।
ऐन, नियम तथा कानुन बनाउँदा उद्योेगी व्यवसायीसँग राय तथा सल्लाह सुझाव लिनुपर्ने प्रदेशभित्र लगानीमैत्री वातावरण बनाएर निजी क्षेत्रलाई आकर्षित गर्ने गर्छौँ । नाडा अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले हाल नेपालमा केही मोटरसाइकल एसम्बलिङ उद्योगले उत्पादन गरिरहेको जानकारी दिए ।
सरकारले ल्याएका नीतिले निरन्तरता पाएमा नेपालमा अटोमोबाइल्स उद्योग फस्टाउँदै जानेमा उनले विश्वास व्यक्त गरेका छन् । नेपालमा खपतको आधा लुब्रिकेण्टस (मोबिल) नेपालमै उत्पादन भइरहेको जानकारी दिँदै अध्यक्ष दुलालले सरकारले यसलाई थप प्रोत्साहन गर्ने हो भने उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने धारणा राखे ।
मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले पछिल्लो समय यातायात क्षेत्रको विकास तीव्रगतिमा भइरहेको जनाउँदै यातायात क्षेत्रको विकाससँगै सडक पूर्वाधारको पनि विकास आवश्यक रहेको बताए ।
प्रदेश नं २ मा अटोमोबाइल क्षेत्रको सम्भावना राम्रो रहेको जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष तेजनारायण साहले बताए । रासस