काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताए ।
उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज उद्घाटन गर्दै उनले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताए । “सरकारले हिजो मात्रै पूर्णता पाएको छ । सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो । हिजोदेखि दुर्घटना टर्यो पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु ।
सबै मिलेर काममा लाग्ने समय आएको छ । शङ्का हटाएर काममा जुटौँ ।” देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उहाँले जोड दिनुभयोे, “नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ । राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ ।” अध्यक्ष दाहालले भने तपाईहरुले देख्नुभएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौँ ।
यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो ।” निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीब्र आर्थिक विकास गर्नुपर्ने भन्दै उनले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिए । कृषिमा आधारित उद्योगले मात्रै हामीलाई आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने अध्यक्ष दाहालको भनाइ थियो ।
उनले उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रका लार्गि रु पाँच करोड बजेट उपलब्ध गराउन सुनिश्चित गरेर आफू यहाँ आएको बताए । उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्याम गिरी र उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष राजु श्रेष्ठले निजी क्षेत्रको समस्याका बारेमा अवगत गराए ।
भने प्रदेशसभा सदस्य कृष्ण खनाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ लगायतले समसामयिक विषयमा चर्चा गर्नुभएको थियो । सङ्घको आजै नयाँ नेतृत्व चयन हुँदैछ । रासस