काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस व्यास नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए । पौडेलले भन्नुभयो, “सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेस हो, तर के साँच्चै कांग्रेस आफैँमा लोकतन्त्रवादी छ त भन्ने प्रश्न चिह्न खडा भएको छ ।” कांग्रेसको नेतृत्व गर्ने मान्छेले लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र लोकतन्त्रको आफूले सदैव वकालत गर्दै आएको दाबी गरेका छन् ।
पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकता र सद्भावको यात्रा अगाडि बढाउन सुझाव दिए । “जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जित र हारलाई सहज रुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडी बढ्नुपर्छ,” वरिष्ठ नेता पौडेलले भने तबमात्र काङ्ग्रेस बलियो बन्छ ।” सत्तरी वर्ष लडेर ल्याएको संविधानले महिला, दलित, जनजातिलाई अधिकार दिलाएको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले सिंहदरबारका अधिकार गाउँ गाउँमा आएको बताए । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, जिल्ला सभापति वैकुण्ठ न्यौपाने लगायतले सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।
पौडेलको दौडधुप नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दावेदार पौडेल तीनदेखि गृह जिल्ला तनहुँमा हुनहुन्छ । महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा निर्वाचन सम्पन्न भएपछि वरिष्ठ नेता पौडेल शुक्रबारदेखि जिल्लाका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट गरिरहनुभएको छ । शुक्रबार गृह जिल्ला आउनुभएका पौडेल सोही दिन नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी थिए ।
शनिबार भानु नगर समितिको पदस्थापन कार्यक्रम र बन्दिपुरमा कार्यकर्ता भेटघाटमा सहभागी हुनुभएका पौडेल आज व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी थिए । रासस