काठमाडौँ : एमालेबाट विद्रोह गरेर नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालले नेतृत्वमा दलित र महिलालाई बेवास्ता गरेका छन् । उनले केही दिनअघि पदाधिकारी निर्माण गरेर केन्द्रीय कमिटी बैठकबाट समेत अनुमोदन गरिसकेका छन् । तर पदाधिकारीमा दलित शून्य छन् भने महिला अत्यन्तै न्यून देखिएका छन् ।
यसले एमालेभन्दा झन चर्को क्रान्तिकारी र प्रगतिशिल नारा लगाउने उपमहासचिव प्रकाश ज्वाला र माधव नेपालको समाजवाद नारामै सीमित देखिएको छ । माधव नेपाल अध्यक्ष बनेको पार्टीमा सात जना उपाध्यक्ष छन् । त्यसमध्ये जयन्ती राईलाइृ महिला उपाध्यक्ष बनाइएको छ । अरु सबै पुरुष छन् ।
महासचिवमा बेदुराम भुसालले बाजी मार्दा कर्णालीका कमाण्डर प्रकाश ज्वाला उपमहासचिव बनेका छन् । महासचिवका लागि भुसालसँगै राजेन्द्र पाण्डे, गंगालाल तुलाधारसँगै प्रकाश ज्वालाको पनि दाबी थियो । तर माधव नेपालले पाण्डेलाई उपाध्यक्ष बनाएर तुलाधार, ज्वाला र विजय पौडेललाई उपमहासचिव बनाएका छन् ।
सचिवमा तीन जनालाई राखिएको छ । जसमा एमालेबाट विद्रोह गरेर सर्वत्र चर्चा बटुलेकी रामकुमारी झाँक्री तेस्रो सचिव तथा अन्तिम पदाधिकारीको नेतृत्वमा छन् । नेकपा एकिकृति समाजवादी पार्टीको नाम राखेका माधव नेपाल र प्रकाश ज्वालाले दुई जना मात्रै महिला राखेर पूरा पार्टीलाई 'पुरुषत्वकरण' गरेका छन् ।
एमालेबाट विद्रोह गर्ने र सारा युवाहरुको राजनीतिमा आकर्षण बनेकी झाँक्रीलाई सचिवमा राखेर थामथुम पारिएको छ । जनजातीबाट जयन्ती राईलाई महिला उपाध्यक्षमा सीमित पारिएको छ । नयाँ पार्टी निर्माण, त्यसमा पनि देशकै ठूलो पार्टी एमालेबाट विद्रोह गरेकाहरुले अवसर पाउने बेलामा माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रतिगमन शैली आत्मसात गरेका छन् ।
अरु नेताभन्दा उदार, सबैको सहभागितामा विश्वास गर्ने माधव नेपालले पदाधिकारीमा एक जना पनि दलित नेता राख्न उचित ठानेका छैनन । त्यति मात्रै होइन उनले संविधान र समावेशी नेतृत्वको खिल्ली उडाँउदै पदाधिकारीमा एक जना दलित नेताको अनुहार देखाउन सकेनन् ।
झाँक्रीलाई सचिवमा थन्कयाउनुको रहस्य पनि उनले सम्भावना भएका भन्दा आफ्नो वरिपरी घुम्ने नेतालाई मात्रै विश्वास गरेको देखिन्छ । त्यसमाथि युवाको नेतृत्वलाई उनले सहजै स्वीकार गर्न सक्ने स्थिती पनि देखिएको छैन ।
नेता भएनन् कि नेतृत्व क्षमता पुगेन ?
माधव नेपालको पार्टीमा एमालेबाट विद्रोह गरेका नेताहरुको कमी छैन । कतिपय परिपक्व र युवा राजनीतिक क्षमता भएका नेताहरुले भरिपूर्ण पार्टी हो । तर उनी पनि चाकडीबाजभन्दा बाहिर निस्केर युवा, समावेशी र उत्कृष्ट नेतृत्व क्षमता भएको पार्टी बनाउन असफल भए ।
समावेशी भन्नेवित्तिकै दलित तथा महिलालाई नेतृत्वमा ल्याउनुपर्ने र उनीहरुको नेतृत्व क्षमता नपुग्ने रटान नेताहरु लगाउँछन् । तर यतिबेला राम्रो युवा क्षमता भएकी अन्तिम सचिवमा थन्काइयो । एमालेबाट विद्रोह गर्नेमा निरु पाल र पार्वती विशंखे लगायत महिला नेतृ पनि थिए । पाल यसअघि संसदीय समितिकी सभापति समेत भइसकेकी हुन् ।
उनी बौद्धिक रुपमा पनि खरो बहस गर्ने सक्ने महिला नेतृ हुन् । तर उनी माधव नेपालको समाजवादी पार्टीको पदाधिकारीमा अटाउन सकिनन् । यस्तै कर्णालीको दैलेखबाट जातीय विभेद खेप्दै राष्ट्रिय राजनीतिमा पुगेकी पार्वती विशंखे पनि नेतृत्वमा आउन सकिनन् । यी त केही प्रतिनिधि पात्र मात्रै हुन्, समाजवादीमा क्षमता, सम्भावना र उत्साह भएका नेता कार्यकर्ता धेरै छन् । महिला, दलित, जनजाती नेता पनि कम छैनन । मात्रै विश्वास र अवसरको कमी छ ।
समाजवाद अवसरवादको झुण्ड बन्ने खतरा
कार्यकर्ता व्यवस्थापन गर्ने माधव नेपालको रणनीति देखिन बाँकी नै छ । अहिले देशैभर पार्टीको संगठन निर्माण र विस्तार गर्न नेता कार्यकर्तालाई खटाइएको छ । तर माधव नेपालले भुई मान्छेको पार्टी बनाउने प्रण गरिरहदा संवैधानिक व्यवस्था, समावेशी नीतिलाई कार्यान्वयन गर्न चुकिरहेको सुरुवाती संकेत हो ।
यसले माधव नेपालको समाजवादी पार्टी साच्चै एमालेभन्दा विशाल बन्छ वा खाली सत्तामा जाने अस्त्रको एउटा झुण्ड मात्रै बन्छ ? हेर्न बाँकी छ ।
तर यसका लागि राजनीतिक करियरलाई दाउमा राखेर नयाँ पार्टीबाट नेतृत्व गर्ने अवसर पर्खिरहेका दलित, महिला, जनजाती र पछाडि पारिएका समूदायको प्रतिनिधित्व अनिवार्य हुनुपर्छ । अन्यथा पार्टीभित्रै आन्तरिक संघर्ष चर्किएर माधव नेपालको समाजवादको राजनीति अवसरवादको एउटा झुण्डमा सीमित हुन सक्छ ।