सिमकोट : संविधानलाई अनुकूलता अनुसार व्याख्या गर्ने कार्य राम्रो नभएको हुम्लाका नेताहरुले बताएका छन् । संविधान दिवसको अवसरमा एक कार्यक्रमबीच नेताहरुले सो कुरा बताएका हुन् । त्योसँगै हुम्लाका जनप्रतिनिधि र राजनीति दलका नेताहरुले संविधान सबैको साझा प्रयासबाट मात्रै कार्यान्वयन हुने दस्तावेज भएको बताएका छन् । संविधान दिवस मनाउने क्रममा उक्त कुरा बताएका हुन् ।
सबै मिलेर बनाएको संविधान सबै मिलेर मिलेर कार्यान्वयन गर्नुपर्ने कांग्रेस नेता जीवनबहादुर शाहीले बताएका छन् । सातौं संविधान दिवस मनाउने क्रममा बोल्दै कर्णाली प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता शाहीले निक्कै मेहनत र नेपाली जनताको बलिदानबाट प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको बताए ।
उनले संविधानलाई अधुरो र अपुर्ण भन्नुभन्दा पनि भएको व्यवस्थालाई सबैले कार्यान्वयन गर्नमा सहयोग गर्न जरुरी भएको बताए । आफु अनुकूल भए संविधान ठिक र नभए बेठिक भन्ने प्रवृति गलत भएको बताउँदै संविधान जस्तो देशको मुल कानूनी दस्तावेजलाई सही रुपमा कार्यान्वयन गर्नु उपयुक्त भएको नेता शाहीले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारीले संविधान कार्यान्वयमा सहयोग गर्ने पहिलो दायित्व राजनीति दलहरुको भएको बताए । उनले धेरै खाले आरोहावरोहपछि वर्तमान संविधान प्राप्त भएको बताउँदै यसलाई कार्यान्वय पक्षमा जोड दिनु आवश्यक रहेको बताए ।
कार्यक्रममा कांग्रेस सभापति जयपति रोकायाले संविधानलाई सही रुपमा कार्यान्वयन गर्न सके देशको परिवर्तन टाढा नरहेको बताए । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले संविधानलाई अपुर्ण भन्न नहुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, एमाले जिल्ला कमिटी समस्य कमल बोहरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष लालकेश जैसी, नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तीर्थराज रोकाया, राप्रपा अध्यक्ष बिकास महत लगाएतका नेताहरुले आफ्नो विचार राखेका थिए ।
जनप्रतिनिधि र राजनीति दलका नेताहरुले संविधान कार्यान्वयन गर्नु साझा दायित्व भएको बताएका थिए । सातौं संविधान दिवस मनाउने क्रममा जिल्लामा उनीहरुले सो विचार व्यक्ति गरेका हुन् । यसअघि एयरपोर्ट चोकबाट र्याली निकालेर जिल्ला समन्वय समितिमा आएर कार्यक्रम भएको थियो । a