सिन्धुपाल्चोकः पत्रकार कञ्चन प्रियदर्शीको स्मृतिमा पिपलडाँडामा शालिक एवं उद्यान निर्माण गरिएको छ । बागमती प्रदेशसभा सदस्य युवराज दुलालले शनिबार शालिकको अनावरण गर्दै प्रियदर्शीले पत्रकारिता र साहित्यको माध्यमबाट समाज परिवर्तनका लागि व्यतित गरेको अमूल्य समयलाई भुल्नु हुँदैन भने ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवानेता माधव सापकोटा, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री पौडेल, मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी, जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, साहित्यकार रमेश पौडेल, हेमन प्रधान, दिल कार्की, मात्रिका पोखरेल, बाबा बस्नेतलगायतले आ–आफ्नो साहित्यिक सिर्जनासमेत प्रस्तुत गरे ।
त्यस्तै शब्द सारथिका अध्यक्ष अमित घिमिरे, नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवन श्रेष्ठले प्रियदर्शीको पत्रकारिता र साहित्यिक योगदानका बारेमा कार्यक्रममा चर्चा गरे । कार्यक्रममा शालिक एवं उद्यान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका प्रदेशसभा सदस्य दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जग्गादाता सुजन बुढाथोकी र कलाकार कृष्णहरि शङ्खदेवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा आयोजित खुला कविता प्रतियोगितामा नवराज रायमाझी, सुष्मा तिमल्सिना र कृष्णप्रसाद धिताल क्रमशः प्रथम, द्वितीय र तृतीय तथा रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गरे ।
भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार’
लामो समय बालसाहित्यमा योगदान पुर्याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ । मित्र प्रतिष्ठानका समन्वयमा दुःखी प्रकाशनले प्रदान गरेको सो पुरस्कारको राशि नगद रु ११ हजार १११ पुरस्कार राशिसहित दोसल्ला र पुरस्कारपत्र छ । प्रदेशसभा सदस्य दुलालले भारतीलाई पुरस्कार प्रदान गरे । कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गरे । कार्यक्रमकै बीच दुःखी प्रकाशनले चार जेहेन्दार विद्यार्थीलाई पोशाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो । रासस