चितवनः गोरखापत्र दैनिकका चितवन समाचारदाता शान्ता अधिकारीलाई केही वर्षअघिसम्म आजको दिन नारायणगढ बजारमा समाचार सङ्कलन र नाचगानमा भ्याइनभ्याई हुने गर्दथ्यो ।
नारायणगढको सहिदचोक, पुलचोक र लायन्सचोक क्षेत्रमा दलहरुका टेन्ट, स्टेजसँगै झण्डा फहराउँथे । अधिकारीले स्मरण गर्दै भने, “सधैँजसो सहिदचोकमा नेपाली कांग्रेस निकट महिला सङ्घको तीज गीत कार्यक्रम हुने गर्दथ्यो ।” पुलचोक र लायन्सचोकमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका पार्टी निकट महिला सङ्गठनले कार्यक्रमको आयोजना गर्दथे । साना दलसँगै सामाजिक सङ्घसंस्थाले पनि बजारमा कार्यक्रम गर्ने गर्दथे । विसं २०६२÷६३ को जनआन्दोलनपछि क्रमशः यो क्रम घटेर गएको उनको भनाइ छ । पछिल्ला वर्षहरुमा दल निकट महिलाहरुले आन्तरिकरूपमा जिल्ला र पालिकामा कार्यक्रम गर्न थालेसँगै सडकमा तीजको रौनकता घट्दै आएको हो ।
स्थानीय रेडियोमा पनि तीज गीत प्रतियोगिता हुने गर्दथ्यो । कालिका एफएमका निर्देशक दीपक पौडेलले प्रतियोगितामा एक सय समूह सहभागी हुने गरेको स्मरण गरे । प्रतियोगितामा प्रतिस्पर्धी बढ्दै जाँदा पुरस्कारको राशि बढाएर रु ५० हजारसम्म पुगेको उनको भनाइ छ । सबै रेडियोले प्रतिस्पर्धा गर्ने र पुरस्कार राशि बढ्दै गएपछि स्थानीय प्रशासनले प्रतियोगिता नगरेर कार्यक्रम गर्न निर्देशन गर्नुपरेको थियो । पछिल्ला केही वर्षयता तीज गीत कार्यक्रममात्रै गरिएको पौडेलको भनाइ छ । प्रतियोगिता हुँदा चितवन, नवलपरासी, तनहुँलगायत जिल्लाबाट सहभागी हुने गरेका थिए । गत वर्ष र यस वर्ष भने यस्ता प्रत्यक्ष कार्यक्रम कोभिडका कारण हुनसकेका छैनन् । पौडेलले भने, “तीजको रौनकता हुँदै गर्दा आजको दिन रेडियो अगाडि खुट्टा टेक्ने ठाउँ हुँदैन थियो ।”
एमाले चितवनकी अध्यक्ष पार्वती रावलले सुरु–सुरुमा गाउँगाउँमा पारिवारिक वेदना समेटिएका गीत गाइने गरेकामा पछिल्लो समय राजनीतिक विषयवस्तुमा केन्द्रित भएर तीज गीत हुने गरेको बताए । विसं २०४६ देखि २०६२ सम्मको समयमा बजारमा ठूला–ठूला कार्यक्रम गरेर राजनीतिक विषयवस्तु केन्द्रित तीज गीत कार्यक्रम हुने गरेको उनको भनाइ छ । पछिल्ला वर्षहरुमा सङ्गठनले जिल्ला र पालिकास्तरमा कार्यक्रम गरेकामा पछिल्लो दुई वर्ष कोभिडका कारण कार्यक्रम हुन नसकेको उनको भनाइ छ ।
नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरीले बजारमा टेन्ट टाँगेर भव्य कार्यक्रमसहित तीज मनाउने गरेकामा पछिल्ला वर्षमा शैली परिवर्तन भएको बताए । सङ्घले पछिल्ला वर्ष पार्टी कार्यालय अगाडि नाचगान गरेर तीज मनाएकामा गत वर्ष र यस वर्ष भने सुनसान भएको उनको भनाइ छ ।
अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्ला अध्यक्ष सङ्गीता भट्टराईले पहिला–पहिला तीजमा भ्याइनभ्याई हुने गरेको भए पनि पछिल्ला वर्ष त्यस्तो नभएको बताए । पछिल्ला दुई वर्षमा कोरोना सङ्क्रमणका कारण सीमित घरभित्र मात्रै कार्यक्रम भएको उनको भनाइ छ । समग्रमा पहिलेको तुलनामा तीजको रौनकता हराएको उनले बताए ।
सुरु–सुरुमा गाउँमा सामाजिक परिवेश समेटिएका गीत गाएर तीज मनाउने गरिएको थियो । बीचका केही वर्ष राजनीतिक विषय तीजका गीतमा समेटिएका थिए । पछिल्ला वर्षहरुमा होटल र पार्टी प्यालेस केन्द्रित तीज हुने गरेका थिए । एक महिना पहिलेदेखि होटल र पार्टी प्यालेसमा तीज मनाउन थालेपछि स्थानीय प्रशासनले रोक्न बाध्य भएको थियो ।
सामाजिक अभियानकर्मी मीना खरेलले मौलिक तीजतर्फ फर्कनुपर्ने बताए । दुःखसुख साटेर तीजले व्यक्तित्व र नेतृत्व विकास गर्ने गरी पर्व मनाउनुपर्ने उनको भनाइ छ । तीजको विकृति बढ्दै गएपछि रोक्नुपर्ने माग महिलाहरुले नै उठाउनुपरेको खरेलले बताए । तीज पर्वलाई जीवन्त राख्नुपर्ने महिलाहरू बताउँछन् । आजको दिन निराहार व्रत बसेर दिनभर नाचगानमा रमाइलो गर्ने गरिन्छ । समय र परिवेशअनुसार तीज मनाउने शैली परिवर्तन हुँदै गएको छ । संस्कृति संरक्षण हुने गरी यो पर्वलाई मनाउनुपर्ने महिला अगुवा बताउँछन् । गत वर्ष र यस वर्ष सीमित परिवारमा केन्द्रित भएर यो पर्व मनाइँदै छ । रासस