दमौलीः तनहुँका स्थानीय तहले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था गरेपछि उनीहरु उत्साहित हुन थालेका छन् । बाख्रा, गाई, भैँसीपालन गर्दै आएका किसानलाई स्थानीय सरकारले अनुदानको व्यवस्था गरेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । शुक्लागण्डकी नगरपालिका–१२ ले व्यावसायिक रुपमा बाख्रापालन गरेका किसानलाई रु ६ लाख अनुदान उपलब्ध गराएको छ ।
बाख्रापालनमा लागेका किसानलाई प्रोत्साहन गर्न वडा कार्यालयले अनुदान उपलब्ध गराएको हो । फिरफिरेका १७ जना बाख्रापालक किसानलाई उक्त रकम वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए
ढोर लाकुरीबोट, लाकुरीबोट, भोर्ले, बाँबियोडाँडा, बराहडाँडा र जसपुर टोलका किसानले अनुदानबापतको रकम बुझेका छन् । रु एक लाख र रु ५० हजार एक/एक जनाले प्राप्त गरेका छन् । १५ जना किसानलाई रु ३० हजारका दरले अनुदान वितरण गरिएको छ । सबै किसानको बैंक खातामा उक्त रकम पठाइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । “बाख्रापालनलाई व्यावसायिक बनाएर किसानलाई आत्मनिर्भर बनाउन अनुदान उपलब्ध गराएका हौं,” उनले भने, “वडामा भौतिक पूर्वाधार र उत्पादनलाई समान दृष्टिले अगाडि बढाएका छौ ।” भौतिक पूर्वाधारले मात्रै समृद्धिको सपना पूरा नहुने भएकाले समृद्ध बन्न उत्पादन बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
अनुदान उत्पादनमुखी भए नभएको वडाले अनुगमन गर्ने गरेको छ । अनुदान वितरणका लागि मापदण्डसमेत बनाइएको छ । खोरको अवस्था, बाख्राको सङ्ख्या, घाँसको व्यवस्थापनलाई आधार मानेर अनुदान वितरण गरिएको गुरुङले बताए । “अनुदान प्राप्त गरेपछि कम्तीमा पनि पाँचवर्ष बाख्रापालनमा लाग्नुपर्ने सम्झौता गरेका छौँ,” उनले भने ।
वडाले अनुदान उपलब्ध गराएपछि बाख्रापालक किसान उत्साहित छन् । लाकुरीबोटका आशमान गुरुङले ११ वर्षसम्म वैदेशिक रोजगारीमा बसेर गाउँ फर्किएपछि बाख्रापालन सुरु गरृका थिए । मलेसियाबाट छुट्टीमा घर आएका उनि गत वर्षको निषेधाज्ञापछि विदेश फर्किए । त्यसपछि उनले व्यावसायिक रुपमा बाख्रापालन सुरु गर्नुभयो । दृढ सङ्कल्पका साथ गाउँमै बोयर बाख्रा पाल्न सुरु गरेका उनले बाख्रापालनमा रु २० लाख लगानी गरेका छन । उनको हाल ४० बाख्रा छन् ।
बाख्रापालनमा आशमानको मेहनत देखेर वडाले उनलाई रु एक लाख अनुदान दिएको छ । “गत आर्थिक वर्षको बजेटबाट हालै दिइएको यो रकमले बाख्रापालनमा निरन्तर लाग्न प्रेरित गरेको छ”, उनले भने, “अनुदानले व्यवसाय विस्तारमा हौसला थप्यो ।” अनुदानसँगै उत्पादनको बजारीकरण र मूल्यको सुनिश्चितता भए अझै सहज हुने उनको भनाइ छ ।
एक दशक वैदेशिक रोजगारीमा बिताएर फर्किएका युवा जीवन हमालले विगत ६ महिनादेखि बाख्रापालन गरिरहेको छन । उनका गोठभरी बाख्रा छन् । बाख्रापालनमा प्रोत्साहन गर्न वडाले उनलाई रु ५० हजार अनुदान दिएको छ । “यो रकमले लगानीमै टेवा पुर्याउने त होइन । तर, हौसला मिल्छ”, उनले भने, “अनुदानसँगै प्राविधिक ज्ञान, नश्ल सुधार, घाँसको बिरुवा, बजार व्यवस्थापनमा सहयोग गरिदिए ठूलो राहत मिल्छ ।”
जिल्लाको बन्दिपुर गाउँपालिकाले दूध उत्पादनमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेपछि यहाँका किसान पनि पशुपालनमा आकर्षित भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि उत्पादनका आधारमा दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेपछि किसान पशुपालनतर्फ आकर्षित भएका हुन् । सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर रु एक अनुदान दिइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
गाउँपालिकाले दूध उत्पादन गर्ने किसानलाई रु २० लाख भन्दा बढी अनुदान रकम वितरण गरिसकेको छ । “गत वर्षदेखि सुरु भएको अनुदान दिने कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिन्छौं, यसले किसानलाई पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुर्याएको छ”, उनले भने, “साथै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पनि मद्दत पुग्छ ।”
बन्दिपुर गाउँपालिका–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी र बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले उत्पादनका आधारमा अनुदान रकम पाउँदै आएका छन् । सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा रु एकका दरले अनुदान दिने गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए ।
उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यसवर्ष दूध उत्पादनमा वृद्धि आएको छ । दूधमा अनुदान पाउनुभएका किसान भोजराज पराजुलीले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने किसानलाई सहयोग पुगेको बताए । “गाईपालनमा ठूलो लगानी गरेका छौं, दूध उत्पादनमा अनुदान दिने व्यवस्थाले यसतर्फ लागिरहन प्रेरणा दिन्छ”, उनले भने ।
भकारो सुधारका लागि अनुदान
गाउँपालिकाले भकारो सुधारका लागि १९ जना किसानलाई रु दुई लाख ५२ हजार वितरण गरेको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् १९ किसानलाई प्रति पशु रु चार हजार ८०० का दरले अनुदान वितरण गरिएको हो ।
सबैभन्दा बढी पाउनेले रु १९ हजार दुई सय र कम पाउनेले रु नौ हजार ६०० बुझेका छन् । गाउँपालिकाभित्रका चार वटा समूहमा आबद्ध भएका किसानलाई भकारो सुधारका लागि अनुदान दिइएको छ । यस्तै गाउँपालिकाले गाईभैँसी, कुखुरा, खरायोपालक ६४ जना किसानलाई पनि अनुदान रकम वितरण गरेको छ ।
बाख्रा पकेट क्षेत्र विकासका लागि बन्दीपुर गाउँपालिका–१ का किसानलाई गाउँपालिकाले घाँसको बिरुवा र खोर सुधारका लागि सहयोग गर्दै आएको छ । उक्त वडालाई पाँच वर्षमा बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । रासस