सुदूरपश्चिमः गएरातिदेखि भइरहेको वर्षासँगै कैलालीको शिवगङ्गा नदीमा आएको बाढीका कारण नदीको बीच भागमा फसेका दुई जनालाई प्रहरीको टोलीले आज सकुशल उद्धार गरेको छ ।
गौरीगङ्गा नगरपालिका कुचैनी गाउँका मायाराम सापकोटाका छोरा राजाराम सापकोटा र छोरी आरती सापकोटाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाँस काट्न भनी बिहीबार घरबाट हिँडेका उनीहरु साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा आफन्तले नदीको बीच भागमा फसेको जानकारी गराएपछि प्रहरीको टोलीले आज उद्धार गरेको हो ।
जिल्लाको कान्द्रा नदीमा आएको बाढीले नदी आसपासका बस्ती कटान गर्न थालेपछि जोखिममा रहेका तीन घरपरिवारलाई आज प्रहरीले सुरक्षित स्थानमा राखेको छ । नदीको बाढीले घोडाघोडी नगरपालिकाको बनबर्सा, सरैयालगायतका गाउँमा ठूलो क्षेत्रफलको जग्गा कटान गरेको छ ।
लम्कीचुहा नगरपालिका–३मा गुलरा नदीमा आएको बाढीसँगै घरमाथि रुख खस्दा एक परिवारको घर पूर्णरुपमा क्षति पुगेको छ । रुख खस्दा घाइते भएका दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
जानकी गाउँपालिका–४ टावरटोल, बेलापुर, कार्गिधरपुर र वडा नं ७ कोजवलपुर, शङ्करपुर र फरैला गाउँका गरी १३८ घरधुरी डुबानमा परेका छन् । पहाडी क्षेत्रको चुरे गाउँपालिकास्थित धनगढी—डडेलधुरा ९भीमदत्त० राजमार्गको खानिडाँडा सडकखण्डमा पहिरो गएपछि अवरुद्ध भएको सडक साँझ पहिरो पन्छाई सुचारु गरिएको छ । सोही गाउँपालिकाको निङ्गलाडी गाउँका वीरबहादुर धामीको गाईगोठमा पहिरो खस्दा पूर्णरुपमा क्षति पुगेको छ । निज धामीसहित दुई परिवार पहिरोको जोखिमा परेको छ ।
कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा आज मध्याह्नसम्म पानीको बहाव चेतावनी तह नजिक पुगेकोमा साँझ बहाव केही कम भएको छ । कर्णाली नदीमा नौ मिटर पानीको बहाव पुगेमा चेतावनी तह मानिन्छ । मध्याह्नसम्म आठ दशमलव ५० मिटरसम्म पुगेको थियो ।
चिसापानी (कैलाली) स्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तले कर्णाली नदीमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा पूर्व सतर्कताका लागि जानकारी गराइने बताए । कर्णालीमा आउने बाढीले कैलालीको टीकापुर नगरपालिकाका केही वडाका साथै बर्दिया जिल्लाका तटीय क्षेत्रामा क्षति पुर्याउने गरेको छ । यो नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिकाका कतिपय बस्तीमा कटान र डुबानको जोखिम बढेको छ ।
उर्लिएर आउने कर्णालीको बाढीका कारण पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको प्रवाह थुनिँदा जिल्लाको दक्षिणी क्षेत्रका मोहना नदी आसपासको बस्तीसमेत डुबानमा पर्ने गरेका छन् । तराई क्षेत्रमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा दुई दिनदेखि भइरहेको वर्षाले नदी तथा खोलामा पानीको बहाव बढेको हो ।
धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सीमा हुँदै बग्ने मोहना नदीमा निर्माणाधीन पुल छेउको माटो बगाउँदा आवागमन ठप्प भएको छ । रासस