झापाः जीवन बलिदान गरेको ६० वर्षपछि झापाका प्रथम शहीद विश्वनाथ घिमिरेको शालिक मेचीनगरको बाहुनडाँगीमा बन्न सुरु भएको छ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक कार्यक्रमबीच शालिकको संयुक्तरूपमा शिलान्यास गरे ।
नेपाली काँग्रेसका संस्थापक नेताहरु वीपी कोइरालालगायतका समकालीन नेता घिमिरेको २०१९ साल जेठ ३१ गते झापाको मेचीनगर–८ पुण्यचोकमा बाटोमा हिँडिरहेका बेला तत्कालीन पञ्चायती शासकले छद्मवेशमा पठाएको हतियारधारी सेनाले गोली हानी हत्या गरेका थिए ।
विसं २०४६ सालको जनान्दोलनपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले घिमिरेलाई राष्ट्रिय शहीद घोषणा गरेको थियो । सहादत प्राप्त भएको ६० वर्षमा मेचीनगर–४ बाहुनडाँगीमा उहाँको शालिक बनाउन लागिएको हो ।
शहीद घिमिरेको परिवारका तर्फबाट प्रदान गरिएको एक कठ्ठा तीन धुर जग्गामा उनको अर्धकदको शालिक निर्माण गर्न लागिएको शहीद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेलले बताउनुभयो । उहाँले शहीद घिमिरेको शालिक आगामी कात्तिकभित्र अनावरण भइसक्ने बताए ।
शालिक शिलान्यास कार्यक्रममा पूर्वमहामन्त्री सिटौलाले राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र अपहरण गरेर निरंकुश शासन सुरु गरेको दुई वर्ष नबित्दै जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला जेलमा भएको बेला सदरमुकाम चन्द्रगढी बोलाएर पञ्चायती शासकहरुले बाटैमा गोली हानी घिमिरेको हत्या गरेको बताए ।
पार्टी प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले ढिलै भए पनि शहीहद घिमिरेको योगदानको मूल्याङ्कन भएको बताउनुभयो । उहाँले विगतको कम्युनिष्ट सरकारले जे जे गल्ती गरेको छ, वर्तमान सरकारले त्यस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गरे । शिलान्यास कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य सरिता प्रसाईं, जिल्ला सभापति उद्धव थापालगायतले शहीद घिमिरेको योगदानको चर्चा गरेका थिए । रासस