काठमाडौँः हिमालय उद्धार सङ्घ (एचआरए) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि आफ्ना मेडिकल उद्धार, गन्तव्य प्रवद्र्धन तथा सूचना प्रवाहका कामलाई प्रभावकारीरूपमा अघि बढाइएको जनाएको छ । एचआरएको आज यहाँ सम्पन्न ४७औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष हरिप्रसाद धरेलले महामारीको असहज परिस्थितिका बाबजुद पनि विगतदेखि गर्दै आएका कामलाई निरन्तरता दिइएको बताए ।
उनले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी, सगरमाथा आधार शिविर स्वास्थ्य शिविर एवं गोसाइँकुण्ड स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए । मनाङ स्वास्थ्य चौकी र फेरिचे स्वास्थ्यचौकीमा नेपाली ५९७ र विदेशी ११५ गरी जम्मा ७१२ बिरामीको उपचार गरिएको संस्थाले जनाएको छ । लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारीरूपमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले होर्डिङ बोर्ड राख्ने, पर्चा छपाइ वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकामा सूचना छपाउने, स्कुल, कलेजका विद्यार्थीलाई तालिम प्रदान गर्ने जस्ता कार्यलाई प्रभावकारीरूपमा अगाडि बढाइएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन (नाथम) सँग सहकार्य गरी गाइड एवं पर्यटक सहयोगीलाई तालिम दिने जस्ता कार्य प्रभावकारीरूपमा सञ्चालन गरिने अध्यक्ष धरेलले जानकारी दिए ।
पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा एचआरएको कार्यक्रम विस्तार गरिने तथा ‘सफल हिमाल अभियान–२०२१’कार्यक्रममा नेपाली सेनासँग पनि सहकार्य गरिरहेको संस्थाले जनाएको छ । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा हेलिकोप्टर उद्धारका नाममा देखिएको विकृति समाप्त पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, गृह मन्त्रालय तथा अन्य निकायको प्रतिनिधित्वसहित पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा गठित खोज तथा उद्धार निर्देशक समितिमा एचआरए सदस्यका रूपमा रहेको छ । संस्थाको कार्यहरुको उच्च मूल्याङ्कन गर्दै नेपाल चेम्बर अफ कमर्सको पर्यटन तथा संस्कृति समितिमा सदस्यमा मनोनयन गरिएको तथा खुम्बु पासाङल्हामु गाउँपालिका तथा मनाङ ङिस्याङ गाउँपालिकासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष धरेलले जानकारी दिए ।
साधारणसभामा महासचिव श्रीराम खत्रीले प्रस्तुत गर्नुभएको आव २०७७र७८ को वार्षिक प्रगति प्रतिवेदन एवं आव २०७८र७९ को लागि वार्षिक कार्यक्रम तथा योजना एवं कोषाध्यक्षको २०७७र७८ को लेखापरीक्षण प्रतिवेदन र आव २०७८र७९को वार्षिक बजेटलाई सर्वसम्मतिले पारित गरेको छ ।
आव २०७८र७९ का लागि एचआरएको हिसाबकिताब लेखापरीक्षण गर्न जे। तामाङ एशोसिएट्सलाई सभाले चयन गरेको छ । एचआरएले साधरणसभाको अवसरमा संस्थालाई सहयोग पु¥याउने विभिन्न व्यक्ति एवं् संस्थालाई सम्मान गरेको छ । साथै एचआरएमा २५ वर्ष कार्यरत रही हालै दिवङगत भएका स्व प्रकाश अधिकारीको योगदानलाई कदर गर्दै मरणोपरान्त ‘एचआरए एक्सिलेन्स अवार्ड–२०२१’ द्वारा सम्मान गरिएको छ । स्याङ्जा स्थायी घर भएका अधिकारी एचआरएको प्रमुख कार्यकारीका रूपमा काम गर्दै आएका थिए । रासस