फोटो : नेपालप्रेस
सुर्खेत : कर्णालीका कयौं सुत्केरीहरुको हेलिकोप्टर नपाएर थलोमै मृत्यु भएको छ । भीरबाट लडेर घाइतेलाई समयमै अस्पताल पुर्याउन नपाउँदा कयौंको मृत्यु भएको छ । तर कर्णालीका मन्त्रीहरु भने घरसम्म पुग्न र भ्रमणको लागि हेलिकोप्टर प्रयोग गर्दै आएका छन् ।
बिहिबार कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलिकोप्टरमा पत्नीलाई लिएर जन्मस्थानको भ्रमण गरेका छन् । पछिल्लो पटक मुख्यमन्त्री शाही यही भदौ ३ गते बिहीवार पत्नी चन्दासहित हेलिकोप्टर चढेर आफ्नो गाउँ पचाल झरनामा पुगेका हुन् ।
हेलिकोप्टरमा पत्नीलाई लिएर जन्मस्थानको भ्रमण गर्ने क्रममा कालीकोट सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर शाहीले मुख्यमन्त्रीले साथमा लिएका थिए । सान्नी त्रिवेणीधाममा पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन भन्दै पत्नी चन्दासहित हेलिकोप्टर चढेर मुख्यमन्त्री जन्मस्थानमा पुगेका हुन् । यसका लागि साढे दुई लाख खर्च भएको छ ।
मुख्यमन्त्री शाहीको घर भएको पचला झराना र सान्न त्रिवेणी धाम छिमेकी गाउँपालिका हुन् । मुख्यमन्त्री शाहीले आफ्नै गाउँमा लगेर हेलिकोप्टर ल्यान्ड गराएका थिए । यस्तो राजसी उडानको बिषयमा मुख्यमन्त्री शाहीकी पत्नी चन्दा शाहीले सामाजिक सञ्जालमा तस्विर राखेपछि यो विषय चर्चामा आएको हो । पत्नी शाहीले चार वर्षपछि कर्मघर पुगेको भनेर सामाजिक सञ्जालमा जानकारी गराएकी थिइन् ।
मामुली काममा मुख्यमन्त्री शाहीले हेलिकोप्टर सयर गरेको यो पहिलोपटक होइन । गत असार ९ गते भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीसँग कालिकोटका विभिन्न पालिकामा गाउँ तथा नगरसभा उदघाटन गर्न उनी हेलिकोप्टर चढेर पुगेका थिए । शाहीले पलाता गाउँपालिका, खाडाचक्र नगरपालिका लगायतका पालिकाको सभा असार १० गते उद्घाटन गरेका थिए ।
सुरुदेखि नै हेलिकप्टर मोहमा रहेका शाही यतिबेला भने सामान्य भन्दा सामान्य काममा पनि हेलिकप्टर चढन थालेका छन् । उनको हेलिकोप्टरको मोह यतिबेला कर्णाली प्रदेशभर चर्चाको विषय बन्न थालेको छ । ‘गरिब प्रदेश’ को मुख्यमन्त्रीको यो खर्च शैलीमाथि निकै प्रश्नपनि उठेको छ ।
‘यो सामग्री हामीले नेपालप्रेसको सहयोगमा तयार पारेका हौं’