सिमकोट : निषेधाज्ञाको समयमा सरकारले खाद्यान्न बिक्रीमा दिएको छुटबारे छानबिन गर्न जिल्लामा पुगेको टोलीले आफ्नो काम सुरु गरे पनि अझै समय लाग्ने बताएका छ । सेवाग्राहीबाट गुनासो आएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोबारे यथार्थ बुझ्न खटाएको टोलीले जिल्लामा पुगे लगत्तै आफ्नो काम सुरु गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीले पठाएको छानबिन टोलीको नेतृत्व गर्दै आएका लिमिटेडका आन्तरिक लेखा परिक्षक अधिकृत समेत रहेका मदन रायमाझीले सबै कुरा हेर्नु पर्ने भएको कारण समय लाग्ने जानकारी दिए ।
गएको मंगलवार हुम्ला आए लगत्तै टोलीले छानबिन सुरु गरेको थियो । टोलीमा अर्का सदस्य घनस्याम अर्याल पनि जिल्लामा आएका छन् । खाद्यान्न बिक्रीको अबस्था, बैंकमा जम्मा भएको रकम लगाएका सबै कुरा हेर्नु पर्ने भएको कारण समय लाग्ने उनले बताए ।
उनका अनुसार अझैं तीन देखि चार दिन अध्ययन गर्न समय लाग्नेछ । अहिलेसम्मको अध्ययनबारे भने उनले बताउन चाहेनन । सबै कुराको छानबिन पछि प्रतिवेदन केन्द्रमा पेश गर्ने अधिकार टोलीले पाए अनुसार सो कार्य गर्ने उनले बताए । जिल्लामा उठेको कुराको निष्कर्ष सरोकारवाला पक्षलाई जानकारी गराउने बारे पनि उनले खुलाएनन् ।
सो खाद्यान्न उपभोक्ताले पाए नपाएको बारे जिल्ला स्तरमा समिति बनाउने कुरामा पनि खाद्य व्यवस्था समितिकाबीच मतभेद देखिएको थियो । एक थरि गठन गर्नु पर्ने र अर्को थरिले केन्द्रबाटै छानबिन टोली आएको कारण अब जिल्लामा समिति गठन गर्नुको औचित्य नभएको बताउँदा समिति बन्न सकेन । अब छुटको खाद्यान्न बिक्री बारे टोलीको प्रतिबेदन पर्खनुको अन्य बिकल्प देखिदैन ।
कोरोना कहरले निषेधाज्ञा जारी रहेका बेला सरकारबाट बीस प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने कुरामा सर्बसाधारणबाट उक्त छुट नपाएको गुनासो पाएपछि काठमाडौंबाट दुई सदस्यीय छानबिन टोली जिल्लामा आएको थियो ।
सरकारले सवै घरधुरीका लागि शाखाको गोदाम, डिपो र बिक्री केन्द्रबाट सबै प्रकारका चामल बिक्री गर्दा अधिकतम तीस केजीमा लागु हुने गरि बीस प्रतिशत छुटको व्यवस्था गर्न पत्राचार गरेको थियो । सरकारले दिएको छुटलाई लिमिटेडको केन्द्रले जेठ २० गतेको मितिमा शाखालाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो ।
असार अन्तिम साता शाखाले खाद्यान्न बिक्री गरेको थियो । लिमिटेड केन्द्रले कोरोना कहरले निषेधाज्ञाका बेला सर्वसाधारणलाई दिएको छुटको लागि शाखाले छुट पाएको खाद्यान्न खरिद गर्ने घरधुरीबाट पहिचान खुल्ने कागजात र सम्पर्क नम्बर लिनुपर्ने पत्रचार गरेको भएपनि शाखाबाट त्यसो गरिएकसो रेकर्ड नराखेको जनाउदै आएको छ ।
यसरी छुटको खाद्यान्न पाउने शाखामा घरधुरी संख्या तीन हजार ५८ रहेको छ । शाखाले ९१६ दशमलव चालीस क्विन्टल खाद्यान्न छुटको मुल्य लिएर बिक्री गरिएको जनाउँदै आएको छ ।
खाद्यान्न बिक्रीका बेला सेवाग्राहीको भीडभाड बढी हुने र शाखाका कर्मचारी कम भएको कारण आवश्यक कागजात लिन नपाएको बताएको थियो । स्थापनादेखि हालसम्म तत्कालिन संस्थान र हालको लिमिटेडले खाद्यान्न बिक्रीको रसिद हुम्लामा लिने गरेको छैन् । प्रजिअ आचार्य जुन आवश्यक भएको बताउँछन् । वडा र गाउँपालिकाले नै सिफारिस गरेको घरधुरी शाखामा रहेको कारण त्यसैलाई आधार मानिएको शाखाको दावी गर्दै आएको छ ।