सुदूरपश्चिम : कोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा खासगरी सानो कक्षाका बालबालिकाको पढाइ बिग्रिएको गुनासो अभिभावकको छ ।
धनगढी उपमहानगरपालिकाका अभिभावक टिआर बिनाडीले भने अनलाइनको सिकाइ कक्षा कोठामा पढाएको जस्तो देखिएन, बालबालिका पहिले सिकेका कुरा पनि बिर्सिन थाले । कोरोना भाइरसको जोखिम फैलिएसँगै बालबालिकालाई विद्यालयमा भौतिक उपस्थिति गराएर पढाउने कार्य लामो समयदेखि ठप्प छ । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा कोरोना सङ्क्रमण नफैलिँदै गएको चैत महिनामा लिइएको पहिलो त्रैमासिक परीक्षा र सम्बन्धित विषय शिक्षकले गरेको मूल्याङ्कनका आधारमा विद्यालयले विद्यार्थीको यस वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेका थिए । कोरोनाको जोखिमकाबीच सहरी क्षेत्रका धेरै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि अनलाइनको पहुँचमा पुग्न नसकेका विकट र ग्रामीण क्षेत्रका बालाबालिकाको पढाइ यो विधिबाट हुन सकिरहेको छैन ।
कोरोना जोखिमका कारण लामो समयदेखि विद्यालय बन्द छन् । यद्यपि कोरोना सङ्क्रमण घटेको ग्रामीण क्षेत्रका कतिपय विद्यालयमा भने पछिल्लो केही हप्तायता विद्यार्थीलाई विद्यालयमै भौतिक उपस्थिति गराएर पठनपाठन शुरु गर्न थालिएको छ । ‘‘कोरोनाको जोखिम देखिँदा अनलाइनमार्फत् पढाउन शुरु गर्यौ’’, एक शिक्षकले भन्नुभयो, ‘‘तर अभिभावकबाट पढाइ राम्रो भएन भन्ने गुनासो आउन थाल्यो ।’अनलाइनमार्फत पढ्ने बालबालिकामा विभिन्न खालका मानसिक र स्वास्थ्यसम्बन्धी समस्या पनि देखिन थालको छ । लामो समयसम्म घरमै बसेर मोबाइल अथवा कम्प्युटर हेरेर अनलाइन कक्षा पढ्नुपर्दा बालबालिकामा आँखासम्बन्धी समस्या देखिको छ । धनगढीका अर्का अभिभावक प्रकाश पाण्डेले भने धेरै बालबालिकाले मोबाइलमा विभिन्न गेम खेल्ने, अनावश्यक साइट हेरेर समय बेथित गर्दा उनीहरुमा मानसिक समस्या देखिने जोखिम बढेको छ ।
अनलाइन कक्षा माथिल्लो कक्षाका विद्यार्थीको सिकाइका लागि केही उपयुक्त देखिएको भए पनि सानो कक्षाका बालबालिकाका निम्ति सहज नभइरहेको अनुभव शिक्षकले पनि गरेका छन् । अनलाइनबाट कक्षा सञ्चालन गर्दा शिक्षण गराउने शिक्षक र सिक्ने विद्यार्थीको घरमा अनिवार्य रुपमा मोबाइल वा कम्युटरमध्ये कुनै एक साधन र इन्टरनेटको सुविधा आवश्यक हुन्छ । तर धेरै अभिभावक आफ्नो कमजोर आर्थिक अवस्थाका कारण मोबाइल र इन्टरनेटको पहुँच बाहिर रहेका छन् । कोरोना फैलिएको शुरुको चरणमा आफ्नै घरका अभिभावकको निगरानीमा बसेर अनलाइन विधिबाट बालबालिकाले सिक्नुपर्ने हुँदा यस्तो सिकाइ प्रभावकारी हुने अपेक्षा गरिएको थियो । बालबालिकाले आफ्नै घरमा अनलाइन कक्षा लिँदा भने प्रविधि बारेको जानकारी नभएका कतिपय अभिभावकलाई भने प्रविधि बारेको सिकाइ भइरहेको छ ।
शिक्षकले अनलाइन कक्षा कसरी पढाउँदा रहेछन् भन्ने कुरा सिकियो,’’ धनगढीकी एक महिला अभिभावकले भन्नुभयो, ‘‘तर छोराछोरीले अनलाइन कक्षामा ध्यान दिएर नपढ्दा उनीको पढाइ बिग्रिदै छ कि भन्ने अनुभव भएको छ ।’’ कोरोनाको सङ्क्रमण हुने दर उच्च रहेकोे वैशाख र जेठ महिनामा शिक्षकका साथै बालबालिकामा कोरोना सङ्क्रमण भएपछि विद्यालयद्वारा अनलाइन कक्षासमेत बन्द गर्नुपरेको थियो । कैलालीसहितका कतिपय जिल्लामा कोरोना भाइरसको रोकथामका लागि जारी निषेधाज्ञा पछिल्ला हप्तामा केही खुकुलो पारिएको भए पनि कोरोनाको जोखिम हुने भन्दै धेरै जिल्लामा विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने अनुमति दिइएको छैन ।
निजी विद्यालयको सङ्गठन ‘प्याब्सन’ कैलालीका वरिष्ठ उपाध्यक्ष टोपेन्द्र शाह अनलाइनमा कक्षा ७,८,९,१० सम्मका विद्यार्थीको सिकाइ केही सहज हुने भए पनि नर्सरीदेखि ६ कक्षा सम्मका नानीहरुलाई सिकाइ गर्न निकै कठिन भएको अनुभव सुनाउनुभयो । ‘‘यो विधिमा सबै विद्यार्थी समेटिएका छैनन्, साना बालाबालिकाको सिकाइ राम्रो भएन भन्ने गुनासो पनि आइरहेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘कोरोना भाइरसको समस्यासँगै शिक्षा क्षेत्र अन्योल र अस्तव्यस्त भएको छ, यो समस्या समाधान नभएमा धेरै निजी विद्यालय बन्द हुने अवस्था छन् । रासस