सिमकोटः इलाका प्रशासन कार्यालयमा सेवा प्रदान सुरु भएसँगै नागरिकता लिने सेवाग्राहीको संख्या उल्लेख्य वृद्धि भएको हो । बुधबार एकैदिनमा ४५ वटा नागरिकता तथा नावालक परिचयपत्र प्रदान गरिएको छ ।
सर्केगार्ड गाउँपालिकामा स्थापना भएको उक्त कार्यालयबाटै पहिलो पटक नागरिकता लगाएतका सेवाहरु प्राप्त हुन थालेपछि गाउँ गाउँबाट आउने सेवाग्राहीहरुको भीड हुने गरेकोे हो ।
दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गर्नका लागि स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगार्डले स्थापनाको पाँच वर्षपछि कार्यालयबाटै नागरिकता प्रदान गर्न सुरु गर्दा पहिलो तीन दिनमै ८७ वटा नागरिकता र पाँच वटा नाबालक परिचपत्र प्रदान गरिएको कार्यालय प्रमुख भिमबहादुर रोकायाले बताए ।
बुधबार मात्र ४५ वटा नागरिकता र नावालक परिचय पत्र बितरण भएका छन् । छिटो र सहज रुपमा नागरिकता, प्रतिलिपि, नावालक परिचयपत्र लगाएतका सेवा कार्यालयबाट प्रदान गर्न सुरु गरिएको होे । सधै सुनसान हुने उक्त कार्यालयमा सेवाप्रवाह हुन थालेपछि हाल बिहान कार्यालय समयदेखि बेलुकासम्म सेवाग्राहीको घुइँचो लाग्न थालेको हो ।
यसअघि कार्यालयमा नागरिकता दिने अधिकृतस्तरको कर्मचारीको व्यवस्था नहुँदा रोकिएको काम अहिले गृह मन्त्रालयले कामु जिम्मेवारी दिएपछि नागरिकता दिन सुरु गरिएको हो ।
कार्यालय मात्र स्थापना भएर सेवा प्रदान नगरिदा महिनामा २५ देखि पचास जनाका नागरिक प्राप्तिका लागि अनुसुची भरेर जिल्लामा पठाउने गरिएकोमा अहिले कार्यालयबाटै सेवा दिन थालिदा र छोटो समयमा उपलब्ध हुने भएपछि सेवाग्राही बढ्नु स्वभाविक भएको उनले बताए ।
कार्यालयबाटै पहिलो पटक नागरिकता पाँच मिनेटमा प्रदान गर्न थालिएको छ । सेवाग्राहीको यो समस्यालाई मध्यनजर गरी प्रशासन कार्यालयकै नायब सुब्बा भिमबहादुर रोकायालाई कामयमुकरर ( अधिकृत स्तर ) को जिम्मेवारी दिएपछि स्थलगत रुपमा स्थापना भएको कार्यालयबाट नागरिकता दिन सम्भव भएको हो ।
अहिले पनि विद्युतको व्यवस्था सहज नहुँदा हातैले खेलेर नागरिकताप्रदान गर्ने गरिएको छ । जब कि जिल्लाबाट दिदा कम्प्युटरबाट प्रिन्ट गर्ने गरिन्छ । कम्प्युटरबाट प्रिन्ट गर्नका लागि कार्यालयले सोलारको व्यवस्थाका लागि लागेको जनाइएको छ ।
यसबाट खटिएका कर्मचारीलाई पनि सहज र सेवाग्राहीलाई आर्थिक र भौतिक रुपमा पनि सहज भएको छ । अब सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका सेवाग्राहीले पन्द्र मिनेटदेखि दुई दिनसम्म पैदल हिँडेर नागरिकता लगायतका सेवाहरु लिन सक्ने छन् । यी गाउँपालिका बढी जनसंख्या भएका क्षेत्रमा पर्छन् । २०७३ साल असार ३० गते तत्कालिन पर्यटन मन्त्री जीवन बहादुर शाहीले उक्त कार्यालयको उद्घाटन गरेका थिए ।