सिमकोट : सिमा सुरक्षा चौकी हिल्साको टोलीले नेपाल र चीनको सिमाना ५२५० मिटर को अग्लो स्थानमा रहेको ४ नम्बर सीमास्तम्भमा पहिलो पटक पुग्न सफल छ । खराब मौसमको कारण पटक पटक सिमास्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बिओपी हिल्सा भने यतिखेर मौसमले साथ दिदा उक्त सीमास्तम्भमा पुगेको हो ।
सिमा सुरक्षा चौकी हिल्साका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले निक्कै लामो प्रयासपछि नेपाल र चीनको ४ नम्बर पिलरमा पुग्न सफल भएको बताए । उनको टोलीले धेरै पटक पुग्ने प्रयास गर्दा पनि मौसम खराबी र हिमपातको कारण पुग्न सकेको थिएन । तर यस पटक मौसमले साथ दिदा दुई वर्षको प्रयास भने सफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिल्सामा दुई वर्ष अगाडी स्थापना भएको सिमा सुरक्षा चौकी (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्ने नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको ४ नम्बर सीमास्तम्भमा पुग्न सफल भएको जानकारी दिए ।
हालसम्म सरकारी तबरबाट कोही पनि पुग्न नसकेको उक्त सिमास्तम्भमा पहिलो पटक बिओपीको टोली परेर सीमास्तम्भको अनुगमन गर्ने कार्य पुरा भएको छ । उक्त सिमास्तम्भ पाँच हजार २५० मिटर अग्लो स्थानमा रहेको छ ।
यसअघि गत र यसैवर्ष पनि पटक पटक टोलीले सो सिमास्तम्भमा पुग्ने प्रयास गरेको भएपनि खराब मौसमको कारण पुग्न सकेको थिएन । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी गेहेन्द्र भण्डारीका अनुसार ४ नम्बर सिमास्तम्भमा पुगेसंगै बिओपीले अब आफ्नो लक्ष पुरा गरेको बताए ।
गत साउन १९ गते उनको नेतृत्वको टोलीले याङ्जो भज्याङस्थित ३ नम्बर सिमास्तम्मा पहिलो पटक पुगेको थियो । वर्षमा दश महिना हिउँले ढाक्ने ४ नम्बर सीमास्तम्भ रहेको क्षेत्रमा असार दोस्रोबाट भदौ पन्द्रसम्म हिउँ पग्लने गर्छ । यो अबधिमा पटक पटक बिओपीको टोलीले पटक पटक पुग्ने प्रयास गर्दा पनि नसकेको बताउदै उनले मौसमले साथ दिदा स्थापनादेखि सरकारी पक्ष नपुगेको ४ नम्बर सिमास्तम्भमा सुरक्षाकर्मी पुगेर मिसन सफल भएको बताए ।
उक्त सिमास्तम्भमा सशस्त्र प्रहरी निरीक्षक केसीको नेतृत्वमा दश जना सुरक्षाकर्मी पुगेका थिए । टोलीले सिमा सुरक्षा चौकी हिल्साबाट ४ र ५ नम्बर सिमास्तम्भ खोज्न र पुग्न दुई लगाएको र ४ नम्बर सिमा स्तम्भबाट चौकीमा फिर्ता हुन सात घण्टा समय लगाएको थियो ।
बाक्लो कुहिरो र पानी परि रहेको कारण टोलीले सीमास्तम्भ भेटाउन निक्कै कष्ट गर्नु परेको थियो । गत असोज पहिलो हप्तायता सिमा सुरक्षाकर्मीले चीनसंगका चार वटा सीमास्तम्भमा पहिलो पटक पुग्न सफल भएको हो ।
जसमा लाप्चाको १२ नम्बर, हिल्सा माथिको टाकुलेमा ११ नम्बर, याङ्जो भण्ज्याङको ३ नम्बर र नुमुच्चेमा रहेको ४ नम्बर रहेका छन् । सशस्त्र प्रहरी बलको स्थापनासंगै चीनसँगका हुम्ला खण्डमा पर्ने सबै स्तम्भहरुको अनुगमन गर्ने कार्य पुरा भएको छ । अब बिओपी बारम्बार सम्भव भएसम्म अनुगमन गर्ने जानकारी दिएको छ । चीनसंगका सिमास्तम्भ सबै नाम्खा गाउँपालिमा पर्छन ।