सिमकोट : जिल्लाका दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गर्नका लागि स्थापना भएको ईलाका प्रशासन कार्यालय सर्केगार्डले स्थापनाको पाँच वर्षपछि कार्यालयबाटै नागरिकता प्रदान गर्न सुरु गरेको छ ।
यसअघि कार्यालयमा नागरिकता दिने अधिकृतस्तरको कर्मचारी नहुँदा रोकिएको काम अहिले गृह मन्त्रालयले जिम्मवारी दिएपछि नागरिकता दिन सुरु गरिएको हो ।
सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा स्थापना भएको ईलाका प्रशासन कार्यालयबाटै पहिलो पटक नागरिकता पाँच मिनेटमा पाउन सफल भएकी चंखेली गाउँपालिका–४ पालीकी मनिसा रावलल अब सहज भएको बताइन् ।
तर पनि उनले आफ्नो गाउँपालिकाबाट छ घण्टा पैदल हिडर नागरिकता लिएकी हुन । कार्यालय सर्केगार्डमा स्थापना भएर अनुसुची भर्नु पर्ने र अधिकृत स्तरको कर्मचारी नभएको कारण नागरिकता प्रमाणित गर्न सदरमुकाम सिमकोटस्थित जिल्ला प्रशासन कार्यालयमा पैदल पठाउनु पर्ने भएको कारण कम्तीमा १५ दिन लाग्ने गरेको थियो ।
सेवाग्राही आफै वा कार्यालयका कर्मचारीले बोकेर जिल्लामा ल्याउनु पर्ने बाध्यता थियो । उनले यो ढिलोपना सबै हटेर कार्यालयमा पुगेकै दिनमा नागरिकता पाउन सफल भएको बताइन् ।
सेवाग्राहीको यो समस्यालाई बल्ल प्रशासन कार्यालयकै नायब सुब्बा भिमबहादुर रोकायालाई कामयमुकरर ९ अधिकृत स्तर ० को जिम्मेवारी दिएपछि स्थलगत रुपमा स्थापना भएको कार्यालयबाट नागरिकता दिन सम्भव भएको हो ।
रोकायाले मन्त्रालयले बल्ल जिम्मेवारी दिएपछि सेवाग्राहीलाई सेवाप्रवाहमा सहज भएको बताए । उनले पहिलो दिन सात जनालाई नागरिकता प्रदान गरिएको बताउँदै अब कार्यालयबाट तोकिएका सबै काम हुने बताए ।
यसअघि अधिकृत स्तरको कर्मचारी नभएको कारण नागरिकता लगाएता सेवा प्रदान गर्न नसकिएको बताउँदै उनले मन्त्रालयले वरिष्ठ सुब्बालाई कामुको जिम्मेवारी दिएको कारण अब ती सबै काम कार्यालयबाट हुने बताए । उनले छ महिनासम्म कामुको जिम्मेवारी गर्न पाउनेछन् ।
उनले यसअघि महिनामा २५ देखि पचास वटा नागरिकताहरु फर्महरु सबै तयारी गरेर जिल्लामा पठाउने र कार्यालयबाट स्वीकृत भएर आएपछि मात्र सेवाग्राहीलाई प्रदान गर्ने गरिएको बताए । अहिले पनि विद्युतको व्यवस्था सहज नहुँदा हातैले खेलेर प्रदान गर्ने गरिएको छ । कम्प्यूटरबाट प्री्रन्ट गर्नका लागि कार्यालय सोलारको व्यवस्थाका लागि गालेको उनले बताए । यसको व्यवस्था नभएसम्मका लागि भने हातैले लेखेर दिइने उनले बताए ।
यसबाट खटिएका कर्मचारीलाई पनि सहज र सेवाग्राहीलाई आर्थिक र भौतिक रुपमा पनि सहज भएको छ । यसबाट सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका सेवाग्राहीले १५ मिनेटदेखि दुई दिनसम्म पैदल हिडेर नागरिकता बनाउन पाउनेछन् । यी गाउँपालिका बढी जनसंख्या भएका क्षेत्रमा पर्छन । २०७३ साल असार ३० गते तत्कालिन पर्यटन मन्त्री जीवनबहादुर शाहीले उक्त कार्यालयको उद्घाटन गरेका थिए ।