कर्णालीः कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश सङ्ग्रहालयले कर्णालीको झल्को दिनुपर्ने बताएका छन् ।
कर्णाली प्रदेश सङ्ग्रहालय सुर्खेतको अवलोकन तथा अनुगमनपछि आज आयोजित कार्यक्रममा उनले कर्णाली नेपाली भाषा, साहित्य, कला, संस्कृति र सभ्यताको केन्द्र भएकाले यहाँ सङ्ग्रह गरिएका सामग्रीहरुले कर्णालीको प्रतिबिम्ब झल्काउनुपर्नेमा जोड दिदैं सङ्ग्रहालयलाई कर्णालीको भाषा, संस्कृति, रहनसहनलगायत परम्पराको अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने गरी दीर्घकालीन योजना बनाएर अघि बढ्न कर्मचारीलाई निर्देशन दिए ।
“कर्णाली प्रदेश सांस्कृतिक, धार्मिक रहनसहन र पुरातात्विक महत्वको केन्द्र हो,” मन्त्री बुढाक्षेत्रीले भने, “त्यसको प्रतिबिम्ब प्रदेश सङ्ग्रहालयमा झल्किनुपर्छ ।” कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रदेशका बारेमा जान्न र बुझाउन सङ्ग्रहालयको महत्वपूर्ण भूमिका हुने भन्दै उनले त्यही अनुसारको पूर्वाधार निर्माण, अध्ययन तथा अवलोकन सामग्री सङ्ग्रह गर्न पनि निर्देशन दिए ।
मन्त्री बुढाक्षेत्रीले सङ्ग्राहलयमार्फत कर्णालीका १० वटै जिल्लाका पर्यटकीय, सांस्कृतिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेका क्षेत्रहरुका बारेमा जानकारी दिन आवश्यक रहेको बताउँदै चालु आवभित्र यहाँका पर्यटकीय, धार्मिक, सांस्कृतिक र पुरातात्विक क्षेत्रको भिडियो डकुमेन्ट्री तयार गरेर सङ्ग्रहालयमा आउने पर्यटकलाई देखाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
सङ्ग्रहालय प्रमुख डबलप्रसाद शर्माले कार्यालयले गरिरहेका कामहरु र भावी योजनाका बारेमा जानकारी गराउँदै पुस्तकालय भवन नबन्दा सङ्ग्रहालयमा आउने पर्यटकलाई कर्णालीको संस्कृति र पहिचानका विषयमा बुझाउन समस्या भइरहेको बताए । रासस