काठमाडौंः जाजरकोटको जुनिचाँदे गाउँपालिका – २ का वडाध्यक्षले स्थानीय युवामाथि कुटपिट गरेको भन्दै सामाजिक सञ्चाल फेसबुकमा मंगलबार एउटा भिडियो सार्वजनिक भयो ।
वास्तविक घटना के हो ? युवा वडाध्यक्षद्धारा कुटिएका हुन त ? केही सत्य भएपनि केही मिथ्या सुचना बाहिर आएको छ ।
यसै सन्दर्भमा जाजरकोटबाट सञ्चालित अनलाइन नेपाल पोष्टखबर डटकमले ‘मदिरा सेवन गरेको भन्दै वडाध्यक्षले कुटे ‘भिडियो सहित’ शीर्षकमा चार लाइनको समाचार प्रकाशन गर्यो । उक्त अनलाइनले लेखेको समाचारमा कुनै पक्षको स्रोत थिएन् । न त पीडितको गुनासो न त पीडकको नै । अन्त्यमा जोडेको छः आफुले मदिरा खाएको व्यक्तिलाई कुटेको समेत स्वीकार गरेका छन् । कसले स्वीकार गरेको त्यो खुलाएको छैन् । पक्कै वडाध्यक्षलाई भनिएको होला ।

अर्को काठमाडौँबाट प्रकाशित शिलापत्र डटकमले 'जाजरकोट जुनीचाँदेका वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटे [भिडियो] शीर्षकमा समाचार प्रकाशन गरेको छ । शिलापत्रको समाचारमा सर्पे दमाईलाई प्रेम दमाईसम्म भनेर नाम लेखिएको छ । घटना १५ गते भएको हो । तर शिलापत्रले सोमबार भनेर लेख्यो । सोमबार १८ गते हो ।


यस्तै थुप्रै अनलाइनमा समाचार आयो । वडाध्यक्षले नै कुटपिट गरेको भिडियो नै भाइरल भएपछि समाचार आउनु स्वभाविक हो । जहाँ वडाध्यक्षले एक युवामाथि क्रुर किसीमले कुटपिट गर्नु कानुन विपरित हो ।
तर धेरै जसो अनलाइनले समाचारको गहिराईमा पुग्नेभन्दा भिडियोमा देखिएको कुरालाई मात्रै समाचार बनाउँदा वास्तविक तथ्य बाहिर आउन नसकेको देखिन्छ ।
खास घटना के हो ?
घटना ०७८ साउन १५ गते शुक्रबार करिब दिनको दुई बजेको थियो । जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नम्बर २ को कार्यालय मजकोटमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको थियो ।
उक्त स्थानमा वृद्धवृद्धा, बालबालिका, अपाङ्गहरुको लाइन नै थियो । अझै भन्दा घुइँचो नै । त्यतिबेला नै एक्कासी वडाध्यक्ष नेपालीका छिमेकी रङ्गे दमाईका छोरा १८ वर्षीय सर्पे दमाईले जाँडरक्सी सेवन गरेर वडा कार्यालय अगाडि प्रवेश गरे ।
सर्पे कार्यालय प्रवेशसँगै मदिराको तालमा ढुङ्गामुडा गर्न थाले । उनलाई कसैले नियन्त्रणमा लिन सकेनन् । तत्काल अंकल भएको नाताले वडाध्यक्ष बाहिर आएर उनलाई नियन्त्रणमा लिन प्रयास गरेको स्थानीय बताउँछन् ।
वडाध्यक्षलाई रङ्गेकी श्रीमती चन्द्रा दमाई आएर भनिन्, ‘घरमा बाबुलाई कुटेर आएको छ । यसलाई हामीले केही गर्न सकेनौं । हजुरले केही गरिदिनु पर्यो’ भनिसकेपछि वडाध्यक्षले आफ्नो भतिज पर्ने सर्पेलाई नियन्त्रणमा लिन डोरीले बाँधेको स्थानीय बताउँछन् ।
युवाले मदिराको तालमा भत्ता बुझ्न आएका वृद्धवृद्धा, बालबालिका बीचमा अपशब्द बोलिरहेका थिए । घटनाका प्रत्यक्षदर्शी स्थानीयका अनुसार वडाध्यक्ष नेपालीले रक्सीले मातिएका उनलाई नियन्त्रणका लिनका लागि डोरीले बाँधेका हुन् ।
यसरी बाँध्नुको कारण उनले अरुमाथि आक्रमण नगरुन र थप ढुंगामुढा गर्न नपाउन भन्ने उद्धेश्य रहेको वडाध्यक्ष बताउँछन् । तर यति गर्दा पनि उनले छाडा शब्द बोल्न नछाडेपछि वडाध्यक्षका साथै स्थानीयले युवामाथि रिसकै आवेगमा कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ ।
एउटा जनप्रतिनिधि भइसकेपछि स्थानीयलाई कुटपिट गर्ने र बाँधेर यातना दिने कुरा कानूनको नजरमा अपराध हो । तर यो घटनाको रहस्य अर्कै छ ।
रक्सी खाएर वडा कार्यालयमा हो-हल्ला र झगडा गर्न थालेपछि सर्पेकी आमा चन्द्राले वडाध्यक्षलाई घरमा पुर्याइदिन आग्रह गरेकी थिइन् । तर रक्सीले मातेका उनलाई घर पुर्याउन सहज थिएन । उनी नजिक आयो कि ढुंगाले प्रहार गर्न खोज्थे । यदि उनले ढुंगा प्रहार गरेको भए, त्यहाँ अर्को घटना घट्न सक्थ्यो ।
त्यसैले उनलाई नियन्त्रणमा लिनु अनिवार्य थियो । स्थानीय रुपमा नियन्त्रणमा लिने उपाय उनकै साथमा रहेको डोरीलाई बनाइयो । पहिले बाँधियो, पछि छाडा शब्द बोल्न थालेपछि कुटपिट पनि गरियो । कुटपिट गर्दै गरेको भिडियोमा वडाध्यक्ष पनि सलंग्न देखिन्छन् ।
उनलाई बाँधेपछि घर लिनुभन्दा प्रहरीलाई जिम्मा लगाउने योजना बनाइएको वडाध्यक्षकै दाबी छ । उनले यसका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा फोन समेत गरे । प्रहरीले पनि आफूहरु नआउन्जेलसम्म नियन्त्रण गर्न आग्रह गरेका थिए । वडाध्यक्षकै आग्रहमा उनलाई बाँधिएको हो । तर उद्धेश्य कुटपिट गर्ने भन्दा अर्को घटना नघटोस भन्ने रहेको पीडित युवाकै आफन्त र वडाध्यक्ष बताउँछन् ।
तर उनलाई कुटपिट गरेको भिडियो मात्रै बाहिरियो । त्यो पनि टाढैबाट । न सुरुवाती रुपमा उनको हर्कत भिडियोमा आयो । न त प्रहरी आएपछिकै वास्तविकता भिडियोमा समेटियो । खाली बाँधेर निर्मम रुपमा कुटपिट भइरहेको भिडियो मात्रै भाइरल बन्यो ।
स्थानीयका अनुसार डोरीले बाँधेर राखेको केही समयपछि प्रहरी आइपुग्यो । त्यतिञ्जेल उनलाई रक्सीले पनि छाड्दै गयो । उनी होसमा कुरा गर्न थाले । प्रहरीसँग वास्तविकता बताए । त्यो यातना नभई आफ्नो गल्तीकै कारण बाँधिनुपरेको उनले बताए । जुन उनले कर्णालीखबरसँगको कुराकानीका क्रममा उनले बताएका छन् ।
प्रहरी घटनास्थलमै पुगेपछि कानुनी रुपमा मुचुल्का उठाउनुपर्ने कारण कागज गराइएको पनि वडाध्यक्ष, पीडित युवा र उनका आफन्तको भनाइ छ । फेरि गल्ती नदोहोर्याउने शर्तमा उनलाई कागज गराएर आमा चन्द्राको साथमा घर पठाइएको प्रहरीको भनाइ छ ।

मिडियामा भाइरल बन्यो भिडियो
घटना घटेको चार दिनपछि फेसबुकमा आएको भिडियोका आधारमा धेरै अनलाइन मिडियाले समाचार प्रकाशन गरे । भाइरल भिडियोका बारेमा समाचार बनाउनु अस्वभाविक होइन ।
तर घटना घट्नुको कारण, पीडितको बयान, स्वयंम युवाको भनाइ, पीडक भनिने वडाध्यक्ष र प्रहरीको सबै कुरा समेटेर समाचार आउनुपथ्र्यो । त्यसरी समाचार लेखिएको देखिएन ।
युवकलाई डोरीले बाँधेर निर्मम रुपमा कुटपिट गर्नु वडाध्यक्षको गल्ती स्पष्ट देखिन्छ । तर भिडियोमा देखिएको घटनाको कारणदेखि त्यसको वास्तविकतासम्म नपुग्नु पत्रकार चुकेको देखिन्छ ।
अझ रोचक त के भने, वडाध्यक्षबाट कुटाई खाएका ती युवा अहिले वडाध्यक्षकै बचाउमा छन् । मदिरा खाएको बेला होसमा नहुँदा युवाले आफूमाथि जानी जानी कुटपिट भएको बताउन चाहेका छैनन् । अनि कुटपिट गर्ने वडाध्यक्ष पनि आफूविरुद्ध षडयन्त्र भएकाले रक्सी खाएका भतिजलाई नियन्त्रणमा लिन त्यसो गरिहएको बताइरहेका छन् ।
वडाध्यक्ष नेपाली भन्छन्, ‘मेरो आफन्त हो । भाउजुले मलाई यस्तो गरिरहेका छ, यसलाई बाँधेर घर पुर्यादिनु पर्यो भनेपछि मैले बाध्न खोजेको हुँ । भिडियोमा केही सत्य कुरालाई काटेर झुटोलाई राखिएको छ । यो गर्ने पनि वडा कार्यालयको कामलाई बाधा पुर्याउने व्यक्ति नै हो ।’
रिसइबी : पुरानै घटनाको निरन्तरता !
यो भन्दा पहिले ०७७ साल बैशाख ९ गते वडा कार्यालयमै आएर वडाध्यक्ष नेपालीमाथि केही स्थानीय समूहले कुटपिट गरेका थिए । वडाध्यक्षलाई कोहलपुरसम्म लगेर उपचार गरिएको थियो । उक्त मुद्धा अदालतमा अहिलेपनि चलिरहेको छ । बैशाख ९ गते वडाध्यक्षमाथि कुटपिट गर्ने समूहले नै मदिरा खुवाएर उनकै भतिज सर्पेलाई वडा कार्यालयमा पठाएको बुझिएको छ ।
सर्पेकी आमाले चन्द्राले भनिन्, ‘छोरालाई वडाध्यक्षले कुटपिट गर्नुभएको होइन् । म पनि त्यही ठाउँमा थिए । सर्पेले बाबुलाई कुटेपछि अरु दुर्घटना नहोस भनेर हामीले नै भनेपछि डोरीले बाँधेर राखेका हुन् । छाडा बोल्न लागेपछि कुटेका हुन् । तर गलत नियतले होइन । गाउँमा हाम्रो परिवार फटाउनका लागि केही खेल भएको हो ।’
यस विषयमा युवा सर्पेले भने, ‘म मदिरामा थिए । त्यो दिन केही थाहा भएपछि अंकलले मलाई घरमा ल्याउनु भएको रहेछ, प्रहरी पनि आएका थिए । पछि कागज भयो म आमासँग घर आएको हुँ ’ ।
पीडित र पीडकको कुरा सुन्दा घटना केही नभएको देखिन्छ । तर भिडियोमा वडाध्यक्षले नै आफ्नै भतिजमाथि क्रुर शैलीमा अमानवीय व्यवहार देखाएर कुटपिट गरेको पनि देखिन्छ । जहाँ कारक, नियत नभई रक्सी देखिन्छ ।
तर भिडियो भाइरल बनेपछि वडाध्यक्षको आलोचना हुनुका साथै कडा कारबाहीको माग चर्किएको छ ।
(पीडित युवा, पीडक भनिएका वडाध्यक्ष, पीडित युवाकी आमा लगायतसँग गरिएको कुराकानीको अडियो सुरक्षित छ ।)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।