कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका– ३ का ४२ वर्षीय गणेश चौधरी अटो रिक्सा चलाएर जीविका चलाउँदै आएका छन् छ । उनी रहरले नभएर बाध्यताले अटो व्यवसायमा संलग्न छन् । उनले चार कठ्ठा जग्गा बेचेर अटो खरिद गरेको चौधरीले बताए ।
सूर्योदयदेखि साँझ अबेरसम्म तत्लीन उनी सवारी नपाएको दिन रितो हात घरसमेत फर्किन्छन् । कमाई नभएको दिन निराश भने हुन्नन् । औसतमा दैनिक उनको कमाई एक हजार जति हुने गर्दछ । अटोबाट हुने कमाइबाट सन्तुष्ट भएको उहाँउनी बताउँछन् ।
“परिवारसँगै बस्न पाएको छु”, उनले भने, “दिनभरि अटो चलाउँछु साँझ परिवारसँग बसेर सुख दुःख साटासाट गरी बस्न पाएको छु । यसमै सन्तुष्ट छु ।” उनका परिवारमा एक छोरा, एक छोरी र श्रीमती छन् । उनले दुई वर्ष वैदेशिक रोजगारमा साउदी अरेबिया र चार वर्ष मलेशियामा विताएका थिए ।
“धेरै कमाई हुन्छ भन्ने सपना बोकेर वैदेशिक रोजगारीमा कर्जा गरेर गएको थिए । कर्जा तिर्नमै ठिक्क भयो । दुई पटक विदेशिए पनि कमाई हुन सकेन”, उनले भने, “थोरै तलबमा धेरै काम गर्नु पर्दथ्यो ।
केही आफनै खर्चका लागि ठिक्क हुन्थ्यो । बचेको रकम परिवारको खर्चका लागि पठाउँदा सकिन्थ्यो । बचत गर्न सकिएन् । पैसा कमाउने उद्देश्यले वैदेशिक रोजगारीमा गएको थिए । पैसा नै बचत नहुने भएपछि घर फर्के ।” बेरोजगार भएर बस्नुभन्दा जग्गा बेचेरै भए पनि अटो किनेको उहाँ बताउँछन् । अटो किन्न चार कठ्ठा र वैदेशिक रोजगारीमा जानुअघि बिरामी पर्दा दुई कठ्ठा जग्गा बेच्नु परेको उनले बताए ।
वैदेशिक रोजगारीमा जानुअघि उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत सहभागी हुनुभएका थिए । उनी विसं २०५८ भदौको २९ गतेलाई विर्षने प्रयत्न गरे पनि विर्षन सक्दैनन् । उनले भने, “ माटोका खाल्डोमा रातभरी बसे । ”
गणेश जस्तै जनयुद्धमा सहभागी भएका वसन्त चौधरीसमेत अटो चलाएर जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा– ३ जोनापुरका चौधरीले अटो रिक्सा चलाउन थालेपछि परिवारको खर्च सहजरुपमा चल्न थालेको छ । बैंकबाट रु आठ लाख ऋण निकालेर चौधरीले अटो रिक्सा खरिद गरेका छन् ।
“रु पाँच लाखमा आटोरिक्सा र रु तीन लाख खर्च गरेर घरमै पसल राखेको छु”, उनले भने, “अटो रिक्सा मैले सम्हालेको छु । पसल श्रीमतीले सम्हालेकी छन् । सहजरुपमा परिवारको खर्च चलेको छ ।” एक वर्षदेखि अटो रिक्सा चलाउँदै आएका उनले बैंकबाट निकालेको आधा ऋणबापतको रकम चुक्ता गरिसकेका छन । अटो रिक्साबाट मात्रै दैनिक उहाँले रु एक हजार बढी रकम आम्दानी गर्दै आएका छन् ।
रोजगारी केही नहुँदा अटो रिक्सा र पसल एकसाथ सञ्चालन गर्नुपरेको उनले बताए । तत्कालीन विद्रोही नेकपा माओवादी पार्टीमा आबद्ध भएर एक दशकसम्म जनयुद्धमा सहभागी भएका चौधरी पार्टीले बेवास्ता गरेपछि क्षेत्रीय ब्युरो सदस्यबाट राजीनामा दिएर व्यवसायमा संलग्न भएको बताए ।
उनले भने, “ राजनीतिलाई थाति राख्दै रोजगारीमा संलग्न भएपछि जीवन सहज भएको छ । राजनीतिमा फर्कने योजना छैन ।” बाध्यताले जग्गा बैंकमा धितो राखेर कर्जा निकालेर अटो खरिद गरी परिवारको खर्च चलाउनुपरेको उनले बताए । रासस