सिमकोटः जुवा खेलिरहेको अवस्थामा दुई जना वडाध्यक्षसहित १५ जनालाई प्रहरीले नियन्त्रणका लिएको छ । गस्तीमा रहेको प्रहरीले सुराकीका आधारमा जुवाखेली रहेको अवस्थामा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार दक्षिणीको अदानचुली गाउँपालिकाको मुख्य बजार श्रीनगर क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरी चौकीले १५ जनालाई पक्राउ गरेको छ ।
नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित एक पसलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । उनले जुवा खेल्ने गरेको सूचना पाएपछि नियमित गस्तीमा रहेको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा जुवा खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्ति नै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् । पक्राउ पर्नेमा दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोली रहेका छन् ।
प्रहरीले जुवाडेहरुलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले खोजतलास गर्दा पैसा नभेडिएपछि अब पूनः यसरी जुवा नखेल्ने सर्तको छाडेको जनाएको छ । सोधपुछ पछि अबका दिनमा यस्तो कार्य नगर्ने कागज सर्त र जरिवाना तिरेर घर पठाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुई वडाध्यक्षसहित १५ जनालाई अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ । बरामद गरिएका तासलाई प्रहरीको टोलीले जलाएको छ । एक हप्ता अगाडी सदरमुकाम सिमकोटको एक होटेलमा १९ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएर दुई रात नियन्त्रणमा लिएर छोडेको थियो ।