बनेपाः काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका वासिन्दालाई खानेपानी उपलब्ध गराउन ‘मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी आयोजना’को त्रिपक्षीय सम्झौता गरिएको छ । नगरपालिका, भक्तपुर जिल्लास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी उपभोक्ता संस्थाबीच उक्त आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी बिहीबार सम्झौता भएको हो ।
नेपाल सरकारको आर्थिक सहयोगमा सो आयोजनाबाट नगरपालिकाको १२ वटा वडामध्ये वडा नं १, २ र ३ बाहेक वडा नं ४, ५ र ६ का तल्लो भेग तथा अन्य वडाका सबै बासिन्दालाई पुग्ने गरी नौवटा वडाका कूल पाँच हजार ५०५ घरका ३० हजार २० जनालाई पानी पुग्ने अनुमान गरिएको छ । सो आयोजनाका लागि रु ८४ करोड ४० लाख ४९ हजारको लागत अनुमान गरिएकामा शर्मा लामा र रमण जेभीले रु ५३ करोड ५१ लाख ६६ हजार ७२४ को लागतमा निर्माण गर्ने गरी ठेक्का हात पारेको छ ।
नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले खानेपानीको समस्या बेहोर्दै आएका बासिन्दाका लागि खानेपानी उपलब्ध गराउने योजनाका साथ आयोजना शुरु गरिएको बताए । “पहिलादेखि उपभोग गर्दै आएको पानीको मुहान २०७२ सालमा आएको भूकम्पले सुकाएपछि समस्यामा रहेका नगरवासीलाई खानेपानी उपलब्ध गराउन नगरपालिकाको तर्फबाट पलह गरेका छौँ ” उनले भने, “अब आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दालाई खानेपानीको अभाव हुनेछैन।”
सो आयोजना नगरपालिकाभित्रको सबैभन्दा ठूलो आयोजना भएको र बागमती प्रदेशसभा सदस्य वसुन्धरा हमागाईंको नेतृत्वमा अर्को करिब रु नौ करोडको लागतमा वडा नं १, २ र ३ का बासिन्दाका लागि ‘नालदुम नगरकोट खानेपानी बहुवर्षीय आयोजना’ समेत शुरु भइसकेको जानकारी दिँदैं उनले निर्वाचनको बेलामा गरिएका वाचा पूरा गर्ने क्रममा यस्ता आयोजना शुरु गरिएको बताए ।
नगर उपप्रमुख निर्मला शाहीले नगरपालिकाको तर्फबाट नागरिकलाई थप सहजताका लागि उपभोक्ताले ब्यहोर्नुपर्ने आधा रकम नगरपालिकाले ब्यहोरेकाले अब त्यसलाई पूर्णता दिन एक घर बराबर रु एक हजार जम्मा गर्नुपर्ने र सो रकम समयमै उपलब्ध गराएर आयोजनालाई बेलैमा सम्पन्न गर्न सबैसंग सक्रिय सहभागिताको अपेक्षा गरे ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र श्रेष्ठले तोकिएको तीन वर्षभित्रमा आयोजना सम्पन्न गर्नका लागि उपभोक्ता समिति र उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए । सङ्घीय सरकार वा निर्माण कम्पनी मात्रले आयोजना सम्पन्न गर्न नसक्ने भएकाले सरोकारवाला सबैको उत्तिकै साथ र सहयोगको खाँचो रहेको उनले उल्लेख गरे ।
सम्झौताअनुसार आयोजनाको कूल लागतको १० प्रतिशत उपभोक्ताले बेहोनुपर्नेमा आधा रकम नगरपालिकाले बेहोर्ने र बाँकी रकम उपभोक्ताले बेहोर्ने गरी रकम उठाउने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष रामबहादर तामाङले बताए । यही साउनमा आयोजना स्वीकृत भएर २०८१ साल साउनमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ । नगरपालिकको वडा नं १० स्थित इन्द्रावती नदीको नारीखर्कबाट पानी लिफ्टिङ गरी थामडाँडा र वडा नं ६ र ७ को सिमानामा पर्ने इन्द्रावती नदीको सोतेबाट जितौरी पोखरीमा मुख्य ट्याङ्की बनाएर पानी वितरण गर्ने योजना रहेको छ । रासस