फोटो स्रोत : हेमन्त केसी/रासस
काठमाडौ : नेपालमा पछिल्लो सात वर्षमा के के भयो ? उत्तर सजिलो छ । धेरै कुरा परिवर्तन भयो । नयाँ संविधान आयो । संघीयता आयो । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठन भए ।
यसबीचमा गाउँदेखि काठमाडौँको सिंहदरबारसम्म नयाँ शासक आए । पुराना शासक बिदा भए । गाउँमा वडाध्यक्षदेखि अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयरले राज गरे । प्रदेशमा मुख्यमन्त्री र मन्त्री अनि केन्द्रमा ओली सरकारको हुकुमी शासन चल्यो । अहिले ओली बिदा भएर प्रधानमन्त्रीको कुर्सीमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् ।
झण्डै तीन वर्ष ओलीले एकलौटी शासन गरे । उनले नेपालमा गर्न बाँकी केही राखेनन् । सडकमा मान्छे भोकै सुत्न परेन । सडक छेउमा बाढीपीडित बस्नुपरेन । तर गफमा मात्रै । वास्तविकतामा आज पनि सडकमा मान्छे भोकै सुतिरहेका छन् । सुर्खेतका बाढीपीडित सात वर्षदेखि सडक किनारैमा छन् ।
तर यसबीचमा पनि ओली समृद्धिको गफ दिदँै गए । ओलीकै नाकाबन्दी राष्ट्रवादी गफबाट सत्तामा उक्लिएका एमाले नेताहरु कोही मन्त्री छन् । कोही सांसद । अनि धेरैजसो स्थानीय तहका प्रमुख र जनप्रतिनिधि । तर बाढीमा सबथोक गुमाएका बाढीपीडितले भने सात वर्षसम्म पनि आफ्नो घरमा बास पाएनन् ।
राम्रो घरबार जोड्न सकेका छैनन् । २०७१ सालको बाढीले घरबार बगाएपछि सुर्खेतको गिरीघाट सडक किनारैमा उनीहरु बसिरहेका छन् । जुन बाटो दैनिक नेता, जनप्रतिनिधि, सांसद र मन्त्रीहरु ओहोरदोहोर गर्ने गरेका छन् ।
तर उनीहरुको दुःख, पीडा र गरीबीमाथि आँखा जाँदैन । यही समस्याबाट सुर्खेतका बाढीपीडित प्रताडित छन् । पश्चिम सुर्खेतबाट नवराज रावत संघीय सांसद छन् । उनी केही समयअघिसम्म स्वास्थ्य राज्यमन्त्री समेत बने ।
तर अहिले उनी मन्त्री पदबाट मुक्त भए । तर पनि उनले ती बाढीपीडितमाथि नजर लगाएका छैनन् । यस्तै कर्णाली प्रदेशसभामा बिन्दमान बिष्ट सांसद छन् । उनी अबको मन्त्री बन्ने लाइनमा पनि छन् । तर उनले थुप्रैपटक बाढीपीडितलाई नयाँ घर बनाउने भनेर चुनावमा भोट मागेपनि त्यसपछि भने बेपत्ता जस्तै छन् ।
उनी आफू जसरी पनि मन्त्री बन्न दौडधुप गरिरहेका छन् । तर आफन्ै क्षेत्रका बाढीपीडितको हरिबिजोग हुँदा उनी भने मन्त्री बन्ने दौडमा छन् । यसले पनि देखाउँछ, नेताहरु कति स्वार्थी छन् । कति चुनाव केन्द्रित छन् । कतिसम्म जनतालाई भ्रममा राखेर भोटको राजनीति गर्छन् । यहीबाटै थाहा हुन्छ ।
२०७१ साउन ३० गते आएको बाढीले गर्दा बराहताल गाउँपालिका –२ गिरीघाटमा बस्दै आएका उनीहरुलाई राहत दिन थुप्रै संघ संस्था पुगे । तर ती संघ संस्थाले केही थान राहत दिएर लाखापाखा लागेका छन् । बाढीपीडितको समस्या ज्यूँका त्यु छ । बराहतालको दुबीचौर, डोब्का र सिस्नेरीमा बाढी आएपछि उनीहरु विस्थापित भएर गिरीघाटमा बस्न थालेका हुन् ।
त्यसमा पनि दलित समूदायका धेरै छन् । सुर्खेतमै जन्मेर कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कुर्सीमा पुगेकी सीता नेपाली बसेपनि उनले दलित समूदायको पुनःस्थापनातर्फ ध्यान दिएकी छैनन् । जसकारण दलित समूदायका नेताहरु जनता र असली भोटरहरुबाट टाढिँदै गएका छन् ।