डोटीः सुदूरपश्चिम प्रदेशमा आज साउने सङ्क्रान्ति पर्व धुमधामका साथ मनाइँदै छ । यहाँका नौवटै जिल्ला बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा आज साउन महिनाको पहिलो दिन अर्थात साउन १ गते विभिन्न कार्यक्रम गरी यहाँका नागरिक साउने सङ्क्रान्ति पर्व मनाउँदै छन् ।
असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन ठाउँअनुसार सबै एकै ठाउँमा जम्मा भई भोज खाएर सङ्क्रान्ति पर्व मनाउने परम्परा रहेको दिपायल सिलगढी नगरपालिका–५ का किरण भण्डारीले जानकारी दिए ।
उनका अनुसार विशेषगरी यहाँका पहाडी जिल्लामा आजको दिन रोगव्याधि नलागोस् भनेर लुतो फाल्ने चलन छ । आजकै दिन सुदूरपश्चिममा परम्परानुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन रहेको शिखर नगरपालिका–१ कपल्लेकीका पण्डित गुणकर जोशीले बताए । उनले भने, “आजको दिन लुतो सम्झेर बलेको अगुल्टो चारै दिशामा सबै रोगव्याधि लुतो लैजा भनी फयाँक्ने गरिन्छ ।” साउन महिनामा सूर्य कर्कट राशिमा रहने भएकाले गर्मी अत्यधिक हुनुका साथै निरन्तर झरी पर्ने भएकाले मान्छे आवतजावत गर्दा पानीमा रुझ्नसक्ने सम्भावना हुन्छ । त्यसमाथि कृषि अनि कृषि कार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्यझैँ हो ।