पोखराः भानुभक्त आचार्यलाई राष्ट्रियताका आधारमा बुझ्न जरुरी रहेको कविहरुले बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले २०८औँ भानु जयन्तीका अवसरमा आयोजित ‘धुनमा कविता’ कार्यक्रममा भानुभक्तले आफ्ना सिर्जनाबाट प्रस्तुत गरेका सबै विषय महत्वपूर्ण भएको बताएका हुन् ।
कार्यक्रममा कवि तीर्थ श्रेष्ठले नेपाली भाषाको प्रचारप्रसार र महत्वमा भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख गरेका छन् । भानुभक्तलाई आदिकवि मात्र नभएर आदि व्यङ्ग्य कविका रूपमा परिचित गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । मङ्गलबार बगरस्थित शिक्षा विकास निर्देशनालयको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशका १२ जिल्लाका १२ कविले कवितावाचन गरेका छन् ।
कार्यक्रममा कास्कीका शिव त्रिपाठी, लमजुङका सरस्वती श्रेष्ठ ‘सरु’, कास्कीका छन्दकवि शङ्करमणि त्रिपाठी, लमजुङका कुमार तामाङ, कास्कीका लक्ष्मी थापा, तनहुँका अम्बिकाप्रसाद भट्टराई, गोरखाका लोकनाथ पुडासैनी, पर्वतका डा जगन्नाथ रेग्मी, स्याङ्जाका डा नारायणप्रसाद अधिकारी र सुदर्शन पौडेलले कविता प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्राज्ञ बिम्ब कवि रमेश श्रेष्ठले समेत कविता प्रस्तुत गरेका थिए । कवि श्रेष्ठले अहिले राष्ट्रियता कमजोर बन्दै गएको र कमजोर बनाउने तत्व हामी भएको उल्लेख गरे । उनले भने, “अहिले हाम्रा कारण राष्ट्रियता कमजोर हुँदै गएको छ । राजनीति र भाषा साहित्यलाई हामीले बुझेनौँ, भानुभक्तका पथमा हिँडेनौँ ।” उनले स्रष्टाहरुको सोच बदल्नुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले २०८औँ भानु जयन्तीका अवसरमा आयोजित धुनमा कविता प्रतिष्ठानको पहिलो कार्यक्रम भएको जनाउँदै आगामी दिनमा प्रदेशका वाङ्मयिक क्षेत्रको विकास र हितका निम्ति सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा चलचित्रकर्मी प्रकाश घिमिरे, गीतकार दुर्गा शाह बाबा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य, उपकुलपति गोरे गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य, सङ्गीतकर्मी र कलाकर्मीहरुको उपस्थिति रहेको सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । रासस