सिमकोट : चीनसँगको सिमाना जोडिएको नाम्खा गाउँपालिकाले  हिल्सा र यारी विद्युुतीकरण, पर्यटन, शिक्षा, स्वास्थ्य, आयआर्जनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आगामी वर्षको बजेट गाउँपालिकाका उपाध्यक्ष पेमा लामाबाट प्रस्तुत भएको थियो । 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले आगामी आर्थिक वर्षको बजेट प्रदेश सरकारबाट प्राप्त हुने सहित  ३२ करोड २२ लाख ३९ हजारको बजेट तथा कार्यक्रम ल्याएको बताए । गाउँपालिकाको समृद्धिको आधार पर्यटन क्षेत्र भएकोले गुरु योजनाले तय गरेका रणनीतिहरुलाई पुरा गर्नका लागि बजेटले कार्यक्रमहरु तर्जुमा गरेको उनले भने । 
पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आफुसँग भएको सिमित श्रोतबाट बजेटको व्यवस्था गरेको छ, भने प्रदेश सरकार र संघीय सरकारसँग पनि गुरु योजना मार्गनिर्देश गरेका योजनाहरुलाई  कार्यान्वयन र बजेटको व्यवस्थाका लागि आग्रह गरेको छ । 
उनले अहिलेको आवश्यकता, जनताको माग र भएको साधन र श्रोतलाई मध्यनजर गर्दै बजेट ल्याएको जानकारी दिए । कोरोना त्रास अझै हटी नसकेकोले स्वास्थ्य क्षेत्रलाई बजेटले उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी  उनले बजेटले शिक्षा, हिल्सा र यारी विद्युतीकरण पनि पहिलो प्राथमिकतामा राखिएको बताए । 
न्यून आयश्रोत भएका नागरिकलाई स्वरोजगार सिर्जना गर्नका लागि आयआर्जनका क्षेत्रलाई पनि बजेटले प्राथमिकतामा राखेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले महिलालाई उद्यम बिकासबाट आम्दानी बढाउने खालका कार्यक्रम तर्जुमा गरिएको बताए । 
त्यसैगरी उनले सडक सञ्जाल नजोडिएका वडामा सडक निर्माणका लागि बजेटले व्यवस्था गरेको बताए । गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको गाउँ सभा सामाजिक दुरी कायम गर्दै अधिकांश सदस्यहरुको सहभागीता रहेको थियो ।  गत असार १० गते बस्नु पर्ने वडा नम्बर ६ का वडा अध्यक्ष र सदस्यहरु न्यालु लेकमा हिमपातको कारण उपस्थिती हुन नसक्ने जानकारी आएपछि सभाको मिति पछि सारिएको थियो । 
यो पनि पढौं..