सुर्खेत : पछिल्लो समय सुर्खेतमा अपराधका घटना बढ्दै गएका छन् । अपराधका घटनामा आत्महत्या, महिला हिंसा तथा बालबालिकामाथि पनि अपराजन्य घटना भइरहेका सुर्खेत प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आत्महत्याका घटनादेखि महिला तथा बालिबालिकामाथि हुने हिंसाका घटना चिन्ताजनक रुपमा बढिरहेको बताएको छ । आत्महत्याका चार सय ३३ वटा घटना छन् ।
जुन पछिल्लो केही वर्षका मात्रै धेरै छन् । आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ को हालसम्म सामाजिक अपराध सम्बन्धि ५ सय २२, महिला तथा बालबालिका सम्बन्धि ४ सय १५, ज्यान सम्बन्धि तीन सय ५७ वटा घटना घटेका छन् ।
चोरी सम्बन्धि १ सय ११, संगठिक तथा आर्थिक अपराध सम्बन्धि ३ सय १४, सवारी सम्बन्धि १ सय ३८ र अन्य ४३ वटा अपराधका घटना घटेका छन् ।
प्रहरीको तथ्यांक अनुसार पछिल्लो चार वर्षमा दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन् । जुन विगतका वर्षमा भन्दा धेरै हो ।
सबैभन्दा धेरै २०७५/०७६ मा ६ सय ९६ वटा घटना घटेका थिए । त्यसअघिको वर्षमा झण्डै पाँच सय घटनाको तथ्यांक प्रहरीसँग छ । यस्तै २०७६/०७७ मा ६ सय ६२ र आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म पाँच सय २० वटा घटना घटेका प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अपराधका घटना बढेपछि प्रहरीलाई नियन्त्रण गर्न चुनौति थपिएको छ । धेरैजसो घटनामा उच्च तहका व्यक्तिको संलग्नता र राजनीतिक दबाब हुने गरेको पनि प्रहरी अधिकारीहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा अपराधका घटनाका बारेमा जानकारी दिएको हो ।