सल्यानः कोभिड महामारीमा पनि सल्यानका किसानले धमाधम रोपाइँमा व्यस्त भएका छन । जिल्ला प्रशासन कार्यालय सल्यानले ५६ दिनदेखिको निषेधाज्ञा १० दिन थपेको छ । यसै बीच पनि सल्यानमा किसानहरु धमाधम रोपाइँमै व्यस्त हुने गरेका हुन । घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै किसानहरू रोपाइँमा जुटेका हुन् ।
अहिले जिल्लाका अधिकांश गाउँमा रोपाइँ चलिरहेको छ । ग्रामीण क्षेत्रका अधिकांश कृषक बिहान सबेरैदेखि राति अबेरसम्म खेतबारीमै व्यस्त बन्न थालेको शारदा नगरपालिका–६ बरलाका किसान लोकबहादुर भण्डारीले बताए । उनका अनुसार रोपाइँको समय घर्किन थालेपछि किसानलाई कोरोना संक्रमणको त्रासमै बाली लगाउने कामको चटारो बढेको हो । ‘कोरोनाको त्रास भए पनि खेतमा भेला हुनुपर्ने बाध्यता छ,’ उनले भने, ‘रोपाइँमा आएका कसैलाई कोरोना भए गाउँभरि नै फैलने डर भयो ।’
रोपाइँका लागि खेत जोत्ने, खन्ने, कुलो लगाउने, आली लगाउने, ब्याडबाट बीउ निकाल्नेलगायत काम गर्न खेतमा भेला हुनुपर्ने बाध्यता भएको स्थानीय कृषक कमल शर्माले बताए । ‘जताततै कोरोनाको संक्रमण फैलिएको छ, रोग लाग्छ कि भन्ने सन्त्रासकै बीच रोपाइँको तयारी गरेका छौं,’ उनले भने, ‘यो सिजनमा खेती नगरे परिवारको गुजारा कसरी चलाउने रु’ उनका अनुसार एक सातायता नियमित वर्षा भइरहेकाले सिँचाइ सुविधा नभएका खेतमा पनि रोपाइँ हुन थालेको छ । उनले अधिकांश किसानलाई अहिले राम्ररी खाने र सुत्नेसमेत फुर्सद नभएको बताए ।
जेठ अन्तिम सातादेखि असार दोस्रो हप्तासम्म रोपिएका खेतमा भदौमा गोडमेल गरिन्छ भने कात्तिकमा बाली भित्र्याइन्छ । एउटा खेत रोप्नका लागि १५र२० जना सहभागिता अनिवार्य हुने सांघारका किसान टीकाराम बोहराले बताए । उनका अनुसार रोपाइँमा स्वास्थ्य मापदण्ड पूरा गर्न पनि समस्या छ । ‘एउटै खेतमा २०र२५ जनाले एकैपल्ट काम गर्दा सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर प्रयोग गर्न समस्या भयो,’ उनले भने, ‘अहिले अधिकांश गाउँमा रोपाइँमा आएका खेताला, रोपाहारलगायत सबै जना कोरोनाको उच्च जोखिममा छन् ।’
जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले जिल्लाका ठूला जिउलाहरू सल्लीबजार, श्रीनगर, लान्ती, मोख्ला, ढोरचौर, थारमारेलगायतमा रोपाइँ भइरहेको छ । अहिलेसम्म सल्यानमा करिब ३० प्रतिशत रोपाइँ सकिएको कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए । उनका अनुसार समयमै वर्षा भएकाले किसान महामारीको प्रवाह नगरी रोपाइँमा लागेका हुन् । जिल्लामा झन्डै १० हजार हेक्टर खेतमा धान खेती भइरहेको छ ।