रुकुमः नेपाल पत्रकार महासंघ रुकुमले रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय तहहरुलाई मिडियामैत्री बजेट बनाउन अनुरोध गरेको छ । रुकुम पश्चिमका ६ ओटा र रुकुम पूर्वका ३ ओटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन तयारी गरिरहेको बेला पत्रकार महासंघ रुकुमले संचारको क्षेत्रमा समेत बजेट बिनियोजन गर्न अनुरोध गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मण केसीका अनुसार सबै पालिकाहरुलाई बिषयगत रुपमा संचार क्षेत्रको विकासका लागि बजेट बिनियोजन गर्न अनुरोध गरेर पत्राचार गरिएको जनाए । जिल्लाका पत्रकारको पेशागत सुरक्षा र सञ्चार माध्यामको नियमित प्रकाशन तथा प्रशारणका लागि पत्रकार महासंघ रुकुमले जिल्लाका स्थानीय तहहरुसँग सहयोग र सहकार्य गर्ने क्रममा आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण तयारी रहेका स्थानीय तहहरुलाई जिल्लाका संचारकर्मीहरुको व्यवसायिक हित र संचार माध्यामको दिगोपनका लागि बजेट विनियोजनको व्यवस्था मिलाइ दिन अनुरोध गरिएको अध्यक्ष केसीले बताए ।
महासघले पत्रकारिता पुरस्कार, पत्रकार कल्याण कोष स्थापना तथा सञ्चालन, नेपाल पत्रकार महासंघ रुकुम शाखाको कार्यालय व्यवस्थापन, जिल्लाका पत्रकारहरुको समग्र क्षमता विकासको क्षेत्रमा बजेट छुट्याइदिन अनुरोध गरेको छ ।
त्यसैगरी पत्रकारहरुको क्षमता बिकासका लागि बिषयगत तालिम (सूचना तथा प्रविधी, अनलाईन, शिक्षा, स्वास्थ्य, खेलकूद, सहकारी कृषि तथा पशु, द्वन्द्व र शान्ति, विकास,) पत्रकारहरुलाई लेखनवृत्ती, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, अनलाईन) लाई लोककल्याणकारी विज्ञापन, स्थानीय सरकार र पत्रकारहरु बिच नियमति तथा समसामयिक अन्तरक्रिया, संवाद, छलफल र पत्रकारहरुले खरिद गर्ने संचार सामग्रीहरु (कम्प्युटर, क्यामेरा, रेकर्डर लगायत) मा अनुदान व्यबस्थाको लागि बजेट बिनियोजन गरिदिन महासंघले अनुरोध गरेको छ ।