झण्डै तीन महिनादेखि जारी निषेधाज्ञा आज असार १ गतेदेखि खुकुलो भएको छ । पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले आज असार १ गतेदेखि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो । यद्यपी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । विकास निर्माणका काममा आवश्यक पर्ने पसल हार्डवेयरलाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ।
होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने निर्णय भएको थियो। अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने प्रजिअहरूले बताएका छन्। विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ।
वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाउँछन्। अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।
एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन। बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ।कूटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ताका लागि आउजाउ गर्ने मानिसहरूलाई नरोकिने भएको छ।
यस्तै कुनै काम प्रयोजनले हिडेका मानिसहरुलाई प्रहरीले समातेर होल्डिङमा राख्न पाउने छैन् । पछिल्लो समय संक्रमण तथा मृत्युदर घट्न थालेपछि निषेधाज्ञा खुकुलो पारेको सरकारको भनाई छ । तर सरकारले परीक्षणको दायरा नै घटाएकाले मृत्युदर घटेको विज्ञहरुको भनाइ छ ।
तर कर्णाली प्रदेशका विभिन्न जिल्लामा भने निषेधाज्ञा कडा छ । अहिले पनि धेरै जिल्लाहरुमा निषेधाज्ञा कडाई गरिएको छ । सुर्खेत, दैलेख, सल्यान लगायतका जिल्लामा निषेधाज्ञा केही खुकुलो पारिएपनि व्यावहारिक रुपमा कडाई गरिएको छ ।