वीरेन्द्रनगर : सुर्खेतमा गत बैषाख १४ गते रातीबाट जारी गरिएको निषेधाज्ञा १० दिनमा थप गरिएको छ । पहिलाको भन्दा केहि मात्रामा खुकुलो बनाएर असार १० गते राती १२ बजे सम्मका लागि गप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कुन कुन व्यवसाय सञ्चालन गर्न पाइने ?
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार तरकारी तथा फलफूल, दुधजन्य पदार्थ, खाना पकाउने ग्याँस, कृषि मल तथा बिउविजन सम्बन्धी पसल दैनिक विहान ६ बजेदेखि ११ बजेसम्म खोल्न सकिनेछ । खाद्यान्न लगायत अन्य पसल शनिबार बाहेक दैनिक विहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म सञ्चालन गर्न पाईने प्रशासनले जनाएको छ ।
त्यस्तै, निर्माण सामग्री (हार्डवयर समेत) का पसल दैनिक बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाईने छ। बढीमा ५० प्रतिशत मात्र कर्मचारी उपस्थित भई अत्यावश्यक कारोबार गर्ने बैंक, वित्तिय तथा सहकारी खोल्न सकिने प्रशासनद्धारा जारी आदेशमा उल्लेख गरिएको छ । यस्तै, अत्यावश्यक वस्तुहरुको अनलान तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि वीरेन्द्रनगर उपत्यका भित्र मात्र साँझ ७ः०० बजेसम्म संचालन गर्न सकिने छ ।
कुन कुन व्यवसाय सञ्चालन गर्न नपाइने ?
प्रशासन कार्यालयका अनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाँचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम संचालन गर्न पाइने छैन। होटल तथा रेष्टुरेन्टहरुले होम डेलिभरी मात्र गर्न पाउने पनि प्रशासनले जनाएको छ ।
फुटपाथ तथा खुल्ला ठाउँमा संचालन हुने विभिन्न व्यापार व्यवसाय संचालनमा रोक लगाउने तथा विवाह, व्रतवन्ध तथा सामुहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने प्रशासनको सुचनामा उल्लेख गरिएको छ ।