सुर्खेत : लागुऔषधको रुपमा प्रयोग गरिने गाँजा पछिल्लो समय बहुउपयोगी औषधीको रुपमा प्रयोग गर्न सकिने भन्दै युवाहरु देशभर ‘गाँजा सचेतना अभियान’ चलाएका छन । संघीय संसद्मा फागुन १९ पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले निजी विधेयकका रूपमा गाँजालाई प्रवेश गराएसँगै अहिले देशभर गाँजा फुकुवाका लागि संगठित प्रयास भइरहेका छन् । गाँजालाई लागुऔषधको सूचिबाट हटाई नेपाललाई आर्थिक समृद्धिको बाटोमा लिन वैद्यानिकरुपमा खेति गर्न पाउनु पर्ने माग कर्णालीका युवाहरुले पनि राखेका छन ।
बहुमुखी वनस्पति गाँजा वैद्यानिक रुपमै कृषकलाई खेति गर्न दिएर करको दायरामा राखी उत्पादन मुलककाम सुरु गर्नुपर्ने कर्णालीका अभियन्ता बिरेन्द्र आचार्यले बताए । जसले गर्दा राज्यले पूँजीको लागि हात थाप्नु नपर्ने उनको तर्क छ । उनी भन्छन् ‘गाँजा बहुउपयोगि वनस्पति हो, यसबाट विभिन्न उत्पादनहरु जस्तै धागो, कपडा, जुस तथा धेरै प्रकारका औषधिहरु स्वदेशमै उत्पादनगर्न सकिन्छ । नेपालको करिब दुई तिहाई जनसंख्याको जिविकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा नेपाल कृषिमा आत्मनिर्भर बन्न सकेको छैन ।’
तीनै तहका सरकारको बजेटमा कृषि उच्च प्राथमिकतामै पर्छ तर वैज्ञानिक कृषि प्रणालीको अभाव र सरकारको कृषि नीति गतिलो नहुँदा बजेटमा समावेश गरिएका योजना तथा कार्यक्रम कागजमै सिमित हुने परिपाटीको अन्त्य हुन नसक्नुले नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेको आचार्यको बुझाइ छ । हरेक बर्ष कृषिका लागि आउने लाखौं बजेट पहुँचको आधारमा वितरण हुँदा वास्तविक किसान ओझेलमा छन् ।
अभियन्ता भन्छन्ः प्रशस्त मात्रमा जमिनहुनेहरु कृषिमा लगानी नउठ्ने देखेपछि खेती गर्न छोडेका छन्, जमिन नहुनेहरु अरुको जमिनमा खेती गरी उत्पादनको दुई तिहाई जग्गा धनीलाई बुझाउन बाध्य हुन्छन् भने, राम्रो सँग खाद्यबालि उत्पादको लागि सिंचाई, लगानी गर्ने पैसा, उन्नत बिउ, आवश्यक मल, प्राविधिक भएको उत्पादनले पनि बजारसमेत नहुँदा बास्तविक किसान मर्कामा पर्ने गरेका छन् ।
धान, गहुँ, मैकै जस्ता परम्परागत खेतिले किसानलाई खान मात्रै पुग्ने ।
उक्त कृषिबाट बचत नहुँदा परम्परागत कृषि प्रणाली अपनाउने प्रायः किसानका बालीहरु नगदे वाली बन्न नसकिरहेको बेला नगदेवालीको रुपमा नेपाली किसानहरुले गाँजा खेती गर्दा उपयुक्त हुने आचार्यले बताए । साथै नेपाली किसानहरुको मुख्य समस्याहरु परम्परागत बालिनालीबाट उत्पादन कम, सिंचाईको अभाव, उत्पादित वस्तुले बजार भाउनपाउँने जस्ता समस्याबाट मुक्ति पाउन गाँजा खेतीले सहयोग गर्ने उनको तर्क रहेको छ ।
गाँजा नेपालको रैथाने वनस्पती भएका कारण नेपालका सबै भुभाग (हिमाल,पहाड,तराई) मा सजिलै हुर्क्न सक्ने बाली भएको भन्दै यसलाई अरु बालीको जस्तो सिंचाई तथा मलको आवश्यक पनि नपर्ने साथै गाँजा खेतीबाट मनग्य आम्दानी लिन सकिने गाँजा अभियन्ता आचार्य बताउँछन । तर नेपालमा गाँजालाई आगुऔषधको रुपमा सुचिकृत गरिएको छ । यसको खेती तथा बेचबिखनमा सरकारले रोक लगाएको छ ।