दैलेख : केही दिनयता दैलेखमा निषेधाज्ञाका कारण बजारमा आउँने तरकारी गाउँमै थन्किएको छ । तरकारी थन्किएपछि दैलेखका किसानहरु मारमा परेका छन । दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्वर ६ सुद्ध कृषि तथा पशुपंक्षी एग्रो फर्म अन्तर्गत १२ रोपनी जग्गामा लगाएको तरकारी बजारसम्म पुर्यान नसक्दा बारीमै थन्किएको छ । कृषक गणेश रोकायाले उक्त जमिनमा १५ हजार बन्दा, २ हजार खुर्सानी, २ हजार टमाटर, फर्की, लौका, काँक्रा, करेला लगायतको तरकारी खेती गरेका छन ।
उक्त तरकारीले बजार नपाएको रोकायाले बताए । रोकायाले भने, ‘ स्थानीय बजारहरु खुलेका छैनन् । तरकारी बारीमा धेरै फलेको छ । तरकारी बारीमै कुहिन लाग्दा स्थानीयलाई नै सस्तो मुल्यमा विक्री गर्दै आएका छौं ।” बजारसम्म तरकारी पुग्दा ५० देखि ६० रुपैयाँमा विक्री हुने तरकारी बारीमै कुहिन लागेपछि ८ रुपैयाँका दरले विक्री गर्दै आएको रोकायाले गुनासो पोखे ।
रोकायको बारीबाट आइतबार मात्रै २० क्विन्टल बन्दा विक्री भयो । गाउँमै सस्तो दरमा विक्री भएको रोकायाले सुनाए । कोरोनाका कारण बन्दाबन्दी जताततै बन्दाबन्दी भएको छ । बन्दाबन्दीले तरकारी बजारमै थन्किएको हो । बजारसम्म पुगेको भए राम्रो दर पाउँने गरेको थियो । यसरी तरकारी बारीमै कुहिएपछि दैलेखका किसानहरु मारमा परेका छन ।
यतिबेला वर्षे तरकारी उत्पादन हुने समय हो । दैलेखमा लौका, करेला, भिन्डी, बोडी, टमाटर, काँक्रा, साग लगायतको तरकारी उत्पादन हुने गर्दछ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न किसानलाई मारमा परेका हुन । दैलेख सदरमुकाम आउन निकै टाढा छ । गाउँपाकिलाका मुख्यबजार क्षेत्रहरु बन्दाबन्दीका कारण खुलेका छैनन् । तरकारी बारीमै कुहिने अवस्थामा पुगेको हो ।
निषेधाज्ञामा किसानहरुसँग आवातजावत गर्ने पास पनि छैन । बजारसम्म पुगेर तरकारी पनि बेच्न नसकेर बारीमै थन्किएको अर्का कृषक कृष्ण रोकायाले बताए । निषेधाज्ञाका कारण दैलेखमा उत्पादन भएको तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, किसानहरुले बिषादी तथा मलसमेत सहज तथा सुलभ तरिकाले पाएका छैनन् भने खेतीबारीमा काम गर्न आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ ।